एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि प्रतिस्पर्धात्मक जित निकालेको छ ।
बुधवार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।
युनाइटेडको घरेलु मैदान ओल्डट्राफेड रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा कोबी माइनो, आमद डियालो र रासमुस होइलुन्डले गोल गरे ।
भ्रमणकारी टोली न्युक्यासलका लागि भने एन्टोनी गोर्डन र लेविस हलले एक–एक गोल फर्काए ।
पहिलो हाफको ३१ औं मिनेटमा डियालोको पासमा माइनोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
तर, दोस्रो हाफको ४९ औं मिनेटमा जाकोब मुर्पेको पासमा गोर्डनले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ५७ औं मिनेटमा डियालोले गोल गर्दा युनाइटेड २–१ ले अघि बढ्यो ।
यता, ८४ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा होइलुन्डले गोल थप्दा युनाइटेड ३–१ ले अघि बढ्यो ।
तर, खेलको अन्त्यतिर इन्जुरी समयको दोस्रो मिनेटमा हलले न्युक्यासलका लागि गोल फर्काउँदा खेल ३–२ ले सकियो ।
जितसंगै युनाइटेडले ३७ खेलबाट ५७ अंक जोड्दै लिग तालिकाको आठौं स्थानमा रहेको छ ।
पराजित न्युक्यासलको पनि समान ३७ खेलमा ५७ नै अंक भएतापनि गोलअन्तरका आधारमा सातौं स्थानमा रहेको छ ।
यता, गयराति नै भएको अर्को खेलमा चेल्सीले ब्राइटनमाथि २–१ को जित हासिल गर्यो ।