
एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलले एभर्टनमाथि फराकिलो जित हात पारेको छ ।
बुधवार राति भएको खेलमा लिग लिडर आर्सनलले एभर्टनमाथि ४–० को फराकिलो जित हात पारेको हो ।
इमिरेटेस रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि ४० औं मिनेटमा युवा खेलाडी बुकायो साकाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको अतिरिक्त थपिएको समयको पहिलो मिनेटमा ग्रावियल मार्टिनेलीले गोल गर्दा खेलमा आर्सनल २–० ले अघि बढ्यो ।
दोस्रो हाफको ७१ औं मिनेटमा मार्टिन ओडिगार्डले गोल थप्दा घरेलु टोली ३–० ले अघि बढ्यो । ८० औं मिनेटमा मार्टिनेलीले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा आर्सनल ४–० ले विजयी रह्यो ।
जितसंगै आर्सनलको प्रिमियर लिगमा २५ खेलमा ६० अंक भएको छ । समान खेल खेलेको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५५ अंक छ ।
पराजित एभर्टनको २५ खेलमा २१ अंक छ । एभर्टन तालिकाको १८ औं स्थानमा झरेको छ ।
यता, गयराति नै भएको अर्को खेलमा लिभरपूलले उल्भ्समाथि २–० को जित निकालेको छ ।
एन्डिफिल्ड रंगशालामा भएको खेलमा ७३ औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसअघि ६६ औं मिनेटमा डार्विन नुनेजले गोल गरेतापनि भिएआरले मान्यता दिएको थिएन ।
त्यस्तै, खेलको ७७ औं मिनेटमा मोहम्मद सल्लाहले गोल गर्दा लिभरपूल २–० ले विजयी रह्यो ।
महत्वपूर्ण जितसंगै लिभरपूल २४ खेलमा ३९ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
पराजित उल्भ्सको २५ खेलमा २४ अंक छ । उल्भ्स तालिकाको १५ औं स्थानमा छ ।