
एजेन्सी । प्रिमियर लिगअन्तर्गत साताको हेभिवेट खेल बराबरीमा सकिएको छ ।
आईतवार राति भएको खेलमा आर्सनल र लिभरपूलले २–२ को बराबरी खेलेको हो ।
आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि बुकायो साका र मिकेल मेरिनोले गोल गर्दा भ्रमणकारी टोलीका लागि मोहम्मद सलाह र भिर्गिल भान डाइकले गोल गरे ।
खेल सुरु भएको ९ औं मिनेटमा बिन ह्वाइटको पासमा साकाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
तर, १८ औं मिनेटमा लुइस डाइजको पासमा भान डाइकले लिभरपूलका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यस्तै, पहिलो हाफको अन्त्यतिर ४३ औं मिनेटमा डिक्लेन राइसको पासमा मेरिनोले गोल थप्दा आर्सनल २–१ ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ८१ औं मिनेटमा डार्बिन नुनेजको पासमा सलाहले मर्सिसाइड क्लबका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा सकियो ।
बराबरीसंगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
लिग तालिकामा लिभरपूलले ९ खेलबाट २२ अंक जोड्दै दोस्रो स्थानमा रहँदा आर्सनलको समान ९ खेलमा १८ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।