एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत साताको हेभिवेट भिडन्तमा लिभरपूल र आर्सनलले बराबरी खेलेका छन् ।
सनिवार राति भएको खेलमा उपाधि होडमा रहेको लिभरपूल र आर्सनलले १–१ को बराबरी खेलेका हुन् ।
लिभरपूलको घरेलु मैदान एन्फिल्ड रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने आर्सनलले लियो ।
खेल सुरु भएको चौथौं मिनेटमा मार्टिन ओडिगार्डको पासमा ग्राबियलले गोल गर्दै आर्सनललाई १–० ले अघि बढाए ।
तर, २९ औं मिनेटमा लिभरपूलका लागि ट्रेन्ट अलेक्जान्डर आनोल्डको पासमा मोहम्मद सल्लाहले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
रोमाञ्चक खेलमा त्यसपछि थप गोल नकिस्केपछि खेल बराबरीमा सकियो ।
बराबरीसंगै दुबै टोलीले एक–एक अंक बाँधेका छन् ।
प्रिमियर लिगमा १८ औं चरणका खेल सकिँदासम्म गर्नसका रुपमा समेत चिनिने आर्सनलले १८ खेलमा ४० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यता, मर्सिसाइड क्लबको भने समान खेलमा ३९ अंक रहेको छ । लिभरपूल तालिकाको दोस्रो स्थानमा रहेको छ ।
गयराति नै भएको प्रिमियर लिगअन्तर्गत अन्य खेलहरुमा टोटनहम हटस्परले एभर्टनमाथि २–१ को जित हासिल गर्दा एएफसी बर्नमाउथले नटिङघम फोरेस्टमाथि ३–२ को जित निकाल्यो ।
त्यस्तै, बर्नलीले फुलहमलाई २–० ले पराजित गर्दा न्युक्यासल युनाइटेड भने लुटन टाउनसंग १–० ले स्तब्ध बन्यो ।
यता, जारी सिजन खराब लयबाट गुर्जिरहेको म्यानचेस्टर युनाइटेड पनि वेस्टह्याम युनाइटेडसंग २–० ले पराजित भयो ।