भक्तपुर । आयोजक राष्ट्र मलेसियासंग पराजित भएसंगै नेपाल पहिलो संस्करणको एसीसी महिला प्रिमियर कपबाट बाहिरिएको छ ।
शुक्रवार भएको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासंग ४ विकेटले पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएको हो ।
योसंगै नेपाल एसीसी एसिया कपमा पनि छनोट हुन असफल भएको छ ।
प्रिमियर कपको फाइनल पुग्ने दुई टोली एसिया कपमा छनोट हुने प्रावधान थियो ।
उता, मलेसिया भने फाइनलमा प्रवेश गर्दै एसिया कपमा छनोट भएको छ ।
बायुमास क्रिकेट ओभल रंगशालामा भएको खेलमा ११६ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोलीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
मलेसियाको जितमा इल्सा हन्टरले ५३ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ६९ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा माहिरा इज्जती इस्माइलले २२ बल खेल्दै १ चौका मद्दतमा १६ रन जोडेर आउट भइन् ।
त्यस्तै, मास इल्साले २२ बलमा १३ रन जोडेर आृउट हुँदा विकेटकिपर वान जुलियाले ९ बलमा ११ रन जोड्दै पेविलियन फर्किन् ।
यता, कप्तान विनीफ्रेड दुराइसिंघम २ रनमा पेविलियन फर्किदा मलेसियाका दुई खेलाडी शुन्य रनमा पेविलियन फर्किए ।
मलेसियाले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
नेपालका लागि कविता जोशीले ३ ओभर बलिङ गर्दै १७ रन दिएर २ विकेट लिँदा सिता राणामगरले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर २ विकेट लिइन् ।
त्यस्तै, कविता कुनवार र रुविना क्षेत्रीले समान १–१ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै ११५ रन जोड्यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले ३७ बलमा २ चौका प्रहार गर्दै २९ रन जोड्दा दोली भट्टले १४ बल खेल्नेक्रममा १ चौका र २ छक्का प्रहार गर्दै २५ रन जोडेर रनआउट भइन् ।
त्यस्तै, ओपनर ब्याटर कविता कुनवारले ३१ बल खेल्दै २ चौका प्रहार गरेर २३ रन बनाउँदै रनआउट हुँदा रुविना क्षेत्रीले १८ बलमा २ चौका प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्किन् ।
यता, सिता राणामगर ६ र कविता जोशी २ रनमा पेविलियन फर्किदा विकेटकिपर काजोल श्रेष्ठ शुन्य रनमा अविजित रहिन् ।
नेपालले अतिरिक्त रुपमा १० रन जोड्यो ।
घरेलु टोली मलेसियाका लागि माहिरा इज्जती इस्माइलले ४ ओभर बलिङ गर्नेक्रममा १० रन दिएर २ विकेट लिँदा विनीफ्रेड दुराइसिंघमले ४ ओभर बलिङ गर्नेक्रममा १७ रन खर्चिएर १ विकेट लिइन् ।