भक्तपुर । इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर १ विजयी भएको छ ।
सोमवार इटहरीस्थित जनता क्रिकेट पार्कमा भएको पहिलो खेलमा प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको जित हात पार्दा दोस्रो खेलमा खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि ९ विकेटको जित हात पारेको हो ।
आज भएको पहिलो खेलमा प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश आमनेसामने भएको थियो । प्राविधिक कारणले ढिला गरि सुरु भएको खेलमा ९ ओभरमा झारिएको थियो ।
टस जितेर पहिला ब्याटिङमा आएको प्रदेश १ ले निर्धारित ९ ओभरको खेलमा ४ विकेट गसमाउँदै ५९ रन बनाएको थियो ।
प्रदेश १ का लागि काजल श्रेष्ठले २१ रन जोडेको थियो । त्यस्तै, कप्तान रुबिना क्षेत्रीले १७ रन बनाउँदा अप्सरी बेगमले १२ रन जोडिन ।
लुम्बिनीका कृतिका मरासिनी,सरस्वती पुन र विभस्ना बीसीले समान १–१ विकेट लिईन् ।
यता, ६० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित ९ ओभरको खेलमा ७ विकेटको क्षतिमा ५० रनमात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि लक्ष्मी चौधरीले ३१ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रदेश १ का लागि संगीता राईले सर्वाधिक ३ विकेट लिईन् । त्यस्तै, सबनम राई,ज्योति दनुवार र रुबिना क्षेत्रीले १–१ विकेट आ–आफ्नो नाममा पारिन् ।
योसंगै प्रदेश १ ले लगातार दोस्रो खेल जितेको छ । प्रदश १ की संगिता राई प्लेयर अफ द म्याच घोषित भइन् ।
आजै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशसंग प्रतिस्पर्धा गरेको थियो । जसमा सुदुर पश्चिम प्रदेश विजयी रह्यो ।
टस जितेर पहिलो ब्याटिङमा आएको गण्डकीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ६० रन बनाएको थियो ।
गण्डकीका लागि सिमाना केसीले १३ रन जोड्दा सिर्जना पौडेल र श्रीष्टि जैसीले ९–९ रन बनाएकी थिइन् ।
सुदुरपश्चिमकी मनिषा चौधरीले सर्वाधि ४ विकेट लिइन् ।
यता, ६१ रनको सामान्य विजयी लक्ष्यसहित जवाफी ब्याटिङ उत्रिएको सुदुरपश्चिमले ११ ओभरमा १ विकेटको क्षतिमा ६३ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।
सुदुरपश्चिमको जितमा कप्तान बिन्दु रावलले सर्वाधिक ४६ रन जोडिन् । त्यस्तै, सोभा रोकायाले ८ रन बनाइन् ।
गण्डकीका लागि निरुता जिटीले १ विकेट लिइन् । मनिषा चौधरी खेलको प्लेयर अफ द म्याच चुनिइन् ।