भक्तपुर । इतहरीमा आज (शुक्रवार) देखि सुरु भएको प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा प्रदेश १ ले मधेश प्रदेशमाथि ९ विकेटको जित हात पार्दै विजयी सुरुवात गरेको छ ।
जितको लागि ५० रनको सामान्य विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले ११.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
प्रदेश १ को जितमा कप्तान रुविना क्षेत्री बेलबासेले २७ बलमा २ चौकासहित २० रन बनाउँदै अविजित रहिन् । त्यस्तै, काजल श्रेष्ठ ४२ बलमा २४ रनमा बनाउँदै आउट भइन् ।
त्यसअघि जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको मधेशले १९.२ ओभरमा अलआउट हुँदै ४९ रन बनायो ।
मधेशका लागि सरस्वती कुमारी चौधरीले २८ बल खेल्दै १२ रन बनाइन् । मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रदेश १ का लागि सबनम राईले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै, निशा शाह र रुविना क्षेत्रीले २–२ विकेट लिए । यता, एलिसा खडिया र ज्योति दनवारले पनि १–१ विकेट आ–आफ्नो नाममा परे ।
उद्घाटन खेलको प्लेयर अफ द म्याच प्रदेश १ की सबनम राई घोषित भइन् । प्रतियोगितामा ८ टोली प्रतियोगितामा सहभागी छन् ।