भक्तपुर । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि जित निकाल्दै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा प्रदेश १ ले लगातार तेस्रो जित निकाल्दै अन्तिम चार सुरक्षित गरेको हो ।
मंगलवार इटहरीस्थित जनता पार्क क्रिकेट मैदानमा भएको पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशमाथि १० विकेटको जित हात पारेको हो ।
जारी प्रतियोगितामा कर्णालीले भने लगातार तेस्रो हार बेहोर्यो ।
मौसमका कारण आजपनि ढिला गरि सुरु भएको खेललाई ११ ओभरमा छोट्याइएको थियो । जसमा टस जिति पहिला ब्याटिङमा उत्रिएको कर्णालीले ११ ओभरमा ५ विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।
कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक १८ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्री, संगीता राई, ज्योति दनुवार र काजोल राजवंशीले समान १–१ विकेट लिइन ।
यता, ४० रनको विजयी लक्ष्यका साथ मैदान ओर्लिएको प्रदेश नम्बर १ ले विना विकेट क्षति ४.५ ओभरमा लक्ष्य पूरा गर्यो ।
प्रदेश १ को जितमा रुबिना क्षेत्रीले अविजित रहँदै सर्वाधिक २२ रन जोडिन । कप्तान रुविना खेलको प्लेयर अफ द म्याच चुनिइन् । त्यस्तै, काजल श्रेष्ठले अविजित १३ रन बनाइन् ।