एजेन्सी । इंग्लिस क्लब आर्सनल युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा पोर्चुगिच क्लब एफसी पोर्टोसंग पराजित भएको छ ।
बुधवार राति भएको अन्तिम १६ अन्तर्गत पहिलो लेग खेलमा तुलनात्मक रुपमा बलियो आर्सनल अन्तिम समयमा सम्हालिन नसक्दा एफसी पोर्टोसंग १–० ले पराजित भएको हो ।
पोर्चुगिच क्लबको घरेलु मैदान इस्टाडियो दो ड्रागाओ रंगशालामा भएको खेलमा वेन्डेरसन गालेनोले पोर्टोका लागि निर्णायक विजयी गोल गरे ।
गोलरहित बराबरी उन्मुख खेलको अन्त्यतिर इन्जुरी समयको चौथौं मिनेटमा ओटाभियोको असिस्टमा गालेनोले निर्णायक गोल गरे ।
योसंगै घरेलु टोली पोर्टोले १–० को अग्रता लिएको छ ।
अब दोस्रो लेग खेल आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा हुनेछ ।
यता, गयराति नै भएको अर्को खेलमा स्पेनिस महारथी बार्सिलोना र इटालियन क्लब नापोलीले १–१ को बराबरी खेलेका छन् ।
इटालियन क्लबको घरेलु मैदान डिएगो अर्मान्डो म्यारोडोना रंगशालामा भएको खेलमा स्पेनिस क्लबका लागि रोर्बट लेवान्डोस्की र इटालियन क्लबका लागि भिक्टर ओसमानले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६० औं मिनेटमा पेड्रीको असिस्टमा लेवान्डोस्कीले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, ७५ औं मिनेटमा आन्द्रे फ्यांक जाम्बो अगुइस्साको असिस्टमा ओसमानले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा सकियो ।
अब यी दुई क्लबहरुबीचको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।