भक्तपुर । बलियो युरोपेली राष्ट्र पोर्चुगलमाथि महत्वपूर्ण जित हात पार्दै मोरक्को एतिहासिक रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।
कतारमा जारी फिफा विश्वकपअन्तर्गत तेस्रो क्वाटरफाइनल खेलमा पोर्चुगलमाथि १–० को जित हात पार्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको हो ।
सनिवार अल थुमामा रंगशालामा युस्सेफ इन नेस्रीले खेलको ४२ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्दा मोरक्को इतिहासमै पहिलोपल्ट विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो ।
एक गोलले पछि परेको स्थिति उल्ट्याउन पोर्चुगलले निरन्तर आक्रमण बुनेपनि गोल भने हुन सकेन ।
खेल अवधिभर करिब ७३ प्रतिशत बल नियन्त्रण गरेको पोर्चुगल पराजित हुँदा प्रतियोगिताबाट त बाहिरियो नै साथसाथै आफ्नो करियरको अन्त्यतिर रहेका क्रिश्चियानो रोनाल्डोको विश्वकप जित्ने सपना पनि टुहियो ।
प्रतियोगिताको अन्तिम चारमा मोरक्कोले फ्रान्स र इंग्ल्याण्डबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।