
भक्तपुर । काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी फुटबल क्लबमाथि सहज जित निकाल्दै पोखरा थन्डर्सले प्लेअफ्समा स्थान पक्का गरेको छ ।
मंगलवार साँझ भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लबमाथि २–० को सहज जित निकाल्दै पोखरा थन्डर्सले प्लेअफ्समा स्थान पक्का गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउन आयुष घलान र विलियम बियासीले गोल गरे ।
खेल सुरु भएको नवौं मिनेटमा आयुषले हेडमार्फत् गोल गर्दै पोखरालाई सुरुवाती अग्रता दिलाए ।
यता, दोस्रो हाफको ५८ औं मिनेटमा विलियमले गोल गर्दा पोखरा २–० ले अघि बढ्यो ।
त्यसपछि खेलमा थप गोल निस्किएन ।
सहज जितसंगै पोखराले ६ खेलबाट २ मा जित, २ मा बराबरी र २ मा हारको नतिजा निकाल्दै ८ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
काठमाडौं रेजर्सको पनि समान ८ अंक नै भए तापनि गोलअन्तरका आधारमा पोखरा तेस्रो स्थानमा उक्लिएको हो ।
पराजित बुटवल लुम्बिनीले भने ६ खेलबाट १ खेलमा बराबरी र ५ खेलमा हारको नतिजा आत्मसाथ गर्दै मात्र १ अंक जोडेर तालिकाको पुच्छारमा रहेको छ ।
बुटवल लुम्बिनी यसअघि नै लिग चरणबाटै बाहिरिसकेको छ ।