भक्तपुर । विश्व खेलकुद महाकुम्भ पेरिस ओलम्पिक समापन भएको छ ।

आईतवार राति बास्केटबलको फाइनल खेल सकेसंगै फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस ओलम्पिक समापन भएको हो ।

बास्केटबलको फाइनल खेलमा संयुक्त राज्य अमेरिकाले घरेलु टोली फ्रान्सलाई हराउँदै स्वर्ण पदक जित्न सफल भयो ।

योसंगै पदक तालिकामा पनि अमेरिका शीर्ष स्थानमा उक्लिन सफल भयो ।

ओलम्पिकको शीर्ष स्थानका लागि अमेरिका र चीनबीच कडा प्रतिस्पर्धा चलेको थियो ।

अमेरिकाले शीर्ष स्थान हासिल गर्नेक्रममा ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित कुल १२६ पदक जित्न सफल भयो ।

यता, ४० स्वर्ण, २७ रजत र २४ कांस्य पदकसहित कुल ९१ पदक जितेर चीन दोस्रो स्थानमा रह्यो ।

तालिकाको तेस्रो स्थानमा भने जापान रह्यो ।

जापानले २० स्वर्ण, १२ रजत र १३ कांस्यसहित कुल ४५ पदक जित्दा चौथौं स्थानमा रहेको अष्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ कांस्य पदक सहित कुल ५३ पदक जित्न सफल भयो ।

त्यस्तै, १६ स्वर्ण, २६ रजत र २२ कांस्यसहित कुल ६४ पदक जितेको घरेलु टोली फ्रान्सले पाँचौं स्थान कब्जा जमाउँदा १५ स्वर्णसहित ७ रजत र १२ कांस्य गरी कुल ३४ पदक जितेको नेडरल्याण्ड्स तालिकाको छैटौं स्थानमा रह्यो ।

सातौं स्थानमा भने १४ स्वर्ण, २२ रजत र २९ कांस्य पदकसहित बेलायत रहँदा दक्षिण कोरियाले १३ स्वर्ण, ९ रजत र १० कांस्य गरि कुल ३२ पदक जितेर ८ औं स्थानमा रहन सफल भयो ।

यता, १२ स्वर्ण, १३ रजत र १५ कांस्य गरि कुल ४० पदक जितेको इटालीले ९ औं स्थान हासिल गर्दा जर्मनीले १२ स्वर्ण, १३ रजत र ८ कांस्य गरि कुल ३३ पदक जित्दै तालिकाको १० औं स्थान पक्का गर्यो ।

यसपल्टको ओलम्पिकमा रुसलाई भने सहभागी गराइएन ।

जुलाइ २६ तारिखदेखि सुरु भएको महाकुम्भ अगस्ट ११ सम्मको समापनमा आइपुग्दा कुल ८४ राष्ट्रले पदक तालिकामा स्थान बनाउँदा ६२ राष्ट्रले स्वर्ण पदक जित्न सफल भयो ।

दक्षिण एसियाली राष्ट्रतर्फ भने पाकिस्तान र भारतले मात्रै पदकको खाता खोल्न सक्यो ।

पाकिस्तानले एक स्वर्ण पदक जित्दै तालिकाको ६२ औं स्थानमा रहन सफल भयो ।

यता, भारतले भने १ रजत र ५ कांस्यसहित कुल ६ पदक जित्दै ७१ औं स्थानमा रह्यो ।

दक्षिण एसियामा नेपालसहित भुटान, श्रीलंका, माल्दिभ्स र बंगलादेश पदकको खाता नै खोल्न सकेनन् ।

३२ खेलको ३२९ विधा रहेको ओलम्पिकमा २०६ राष्ट्रका १० हजार ७ सय १४ खेलाडीले सहभागिता जनाएको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.