एजेन्सी । इजिप्टमाथि फराकिलो जित निकाल्दै मोरोक्कोले पेरिस ओलम्पिकको फुटबल विधामा कांस्य पदक जितेको छ ।
विहिवार राति भएको तेस्रो स्थानका लागि भएको खेलमा इजिप्टमाथि ६–० को एकपक्षिय फराकिलो जित निकाल्दै मोरोक्कोले पुरुष फुटबल विधामा कांस्य पदक जितेको हो ।
फ्रान्सको नान्स सहरस्थित ला बौजोरे लुइस फन्टेनेउ रंगशालामा भएको खेलमा मोरोक्कोलाई जिताउन सौफियान राहिमीले दुई गोल गर्दा बिलाल इल खान्नौस, अक्रम नाकाच, अबड इज्जलजौली र अचारफ हाकिमीले गोल गरे ।
खेल सुरु भएको २३ औं मिनेटमा इज्जलजौलीले गोल गर्दै मोरोक्कोलाई सुरुवाती अग्रता दिलाए ।
त्यसको तीन मिनेटपछि नै इज्जलजौलीकै पासमा राहिमीले गोल थप्दा मोरोक्को २–० ले अघि बढ्यो ।
त्यस्तै, दोस्रो हाफको ५१ औं मिनेटमा इज्जलजौलीकै पासमा खान्नौसले गोल गर्दा मोरोक्को ३–० को आरामदायी अग्रतासहित अघि बढ्यो ।
यता, ६४ औं मिनेटमा इलियास अखोमाचको पासमा राहिमीले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा मोरोक्को ४–० को फराकिलो अग्रतामा अघि बढ्यो ।
त्यस्तैगरी, ७३ औं मिनेटमा राहिमीको पासमा अक्रमले गोल थप्दा मोरोक्को ५–० ले अघि बढ्यो ।
खेलको अन्त्यतिर ८७ औं मिनेटमा हाकिमीले फ्रिकिकमार्फत् सुन्दर गोल थप्दा मोरोक्को ६–० ले विजयी भयो ।