एजेन्सी । पेरिस ओलम्पिकको महिला फुटबल विधाको फाइनलमा संयुक्त राज्य अमेरिका र ब्राजिल भिड्ने पक्का भएको छ ।
मंगलवार राति भएको सेमिफाइनल खेलहरुमा संयुक्त राज्य अमेरिकाले जर्मनीलाई १–० र ब्राजिलले उपाधि दावेदार मानिएको बलियो स्पेनलाई ४–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरको हो ।
योसंगै अमेरिका र ब्राजिलले कम्तीमा रजत पदक भने पक्का गर्न सफल भयो ।
फ्रान्सको लियोनस्थित ग्रुपामा स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा उपाधि दावेदार अमेरिकालाई जिताउन ९५ औं मिनेटमा सोफिया स्मिथले एकमात्र निर्णायक गोल गरिन् ।
उक्त गोलका लागि मोल्लोरोय स्वान्सनले असिस्ट प्रदान गरेकी थिइन् ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त ३० मिनेट लम्बिन पुग्यो ।
त्यसअघि मर्सेलेको ओरेन्ज भेलोड्रोम स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा खेल सुरु भएको छैटौं मिनेटमा स्पेनिस खेलाडी इरेने पेरेडेसको आत्मघाती गोलमा ब्राजिलले सुरुवाती अग्रता लियो ।
तर, पहिलो हाफको इन्जुरी समयको चौथौं मिनेटमा यास्मिमको असिस्टमा गाबी पार्टिल्होले गोल गर्दा ब्राजिल २,० ले अघि बढ्यो ।
त्यसपछि दोस्रो हाफको ७१ औं मिनेटमा पार्टिल्होकै पासमा एड्रियानाले गोल थप्दा ब्राजिल ३–० को अरामदायी अग्रता सहित अघि बढ्यो ।
तर, ८५ औं मिनेटमा जेन्नी हेर्मोसोको पासमा सल्मा पाराल्लुइलोले स्पेनका लागि गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।
तर, इन्जुरी समयको पहिलो मिनेटमा केरोलिनले ब्राजिलका लागि गोल थप्दा खेल ४–१ को अवस्थामा पुग्यो ।
इन्जुरी समयको १२ औं मिनेटमा स्पनकी सल्माले नै गोल फर्काउँदा खेल ४–२ ले सकियो ।
अब स्वर्णका लागि ब्राजिल र अमेरिकाले फाइनल खेल अगस्ट १० तारिख सनिवार राति खेल्नेछ ।
त्यसभन्दा अघि सेमिफाइनलमा पराजित टोलीद्वय स्पेन र जर्मनीले अगस्ट ९ तारिख शुक्रवार राति कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।