एजेन्सी । आयोजक राष्ट्र फ्रान्सले पेरिस ओलम्पिकअन्तर्गत फुटबल विधामा विजयी सुरुवात गरेको छ ।
बुधवार राति भएको खेलमा फ्रान्सले संयुक्त राज्य अमेरिकामाथि ३–० को सहज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
फ्रान्सको मर्सेलेस्थित ओरेन्ज भेलोड्रोम रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन एलेक्जान्डर लाकाजेट, माइकल ओस्लो र लोइक बाडले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६१ औं मिनेटमा ओस्लेको पासमा लाकाजेटले गोल गर्दै घरेलु टोलीलाई १–० ले अगाडी बढायो ।
त्यसपछि ६९ औं मिनेटमा लाकाजेटको पासमा ओस्लेले गोल थप्दा फ्रान्स २–० ले अघि बढ्यो ।
यता, ८५ औं मिनेटमा जोरिस चाटार्डको पासमा बाडले गोल थप्दा फ्रान्स ३–० ले विजयी भयो ।
सहज जितसंगै समूह ‘ए’ मा रहेको फ्रान्सले महत्वपूर्ण ३ अंक जोडेको छ ।