
भक्तपुर । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुन गईरहेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको महिला फुटबल विधाअन्तर्गत एसिया छनोटको समूह ‘सी’ का खेलहरु नेपाललमा आयोजना हुने भएको छ ।
आइतवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ का खेलहरु नेपालमा हुने जानकारी दिएको हो ।
समूह ‘सी’ मा नेपालसंगै भियतनाम, प्यालेस्ताइन र अफगानिस्तान रहेका छन् । तर, प्यालेस्ताइनले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले भियतनाम र अफगानिस्तानसंग मात्र प्रतिस्पर्धा गर्नेछ ।
छनोटअन्तर्ग पहिलो चरणका खेल चैत्र २० गतेदेखि २८ गतेसम्म हुनेछ ।
समूह विजेता हुने टोली छनोटअन्तर्गत दोस्रो चरण प्रवेश गर्नेछ । अहिलेसम्म उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।
दोस्रो चरणमा स्थान बनाउने टोलीहरुलाई ३ समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहबाट विजेता टोली र एक उत्कृष्ट उपविजेता टोली तेस्रो चरणका लागि छनोट हुने छन् ।
तेस्रो चरणमा शीर्ष दुईमा पर्ने दुई राष्ट्र पेरिस ओलम्पिकमा छनोट हुने छन् ।
ओलम्पिक छनोटको तयारी स्वरुप केहि साताअघि मात्रै नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतसंग मैत्रीपूर्ण खेल खेलेका थिए ।