भक्तपुर । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत क्वालिफायर (१) खेलमा जित निकाल्दै धनगढी एफसी फाइनलमा प्रवेश गरेको छ ।

सोमवार साँझ भएको प्रतियोगिताअन्तर्गत पहिलो क्वालिफायर खेलमा साविक पोखरा थन्डर्स एफसीमाथि पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै गर्दै साविक उपविजेता समेत रहेको धनगढी एफसी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

पेनाल्टी सुटआउटमा धनगढीका लागि रिर्चाड आगेमन, उडे फफाना, आशिष चौधरी र देवेन्द्र तामाङले गोल गर्दा मोहम्मद हिजाजीको प्रहार भने गोल परिणत भएन ।

यता, पोखराका लागि दिनेश राजबंशी, अन्जल महर्जन र सुरज ज्यु ठकुरीले गोल गर्दा मोसेस टुम र आयुष घलानले भने पेनाल्टी प्रहार चुकाए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखराको जितमा आयुष घलान र स्टेफेन कोजो पापा आनोरले समान एक–एक गोल गर्दा पराजित टोलीका लागि देवेन्द्र तामाङ र अहमद हिजाजीले एक–एक गोल फर्काए ।

खेल सुरु भएको पाँचौं मिनेटमा पोखराले आयुषको गोलमार्फत सुरुवाती अग्रता लियो ।

तर, प्रतिस्पर्धात्मक खेलको ५३ औं मिनेटमा कमल श्रेष्ठको पासमा देवेन्द्र तामाङले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि निर्धारित ९० मिनेटसम्म दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त ३० मिनेट लम्बियो ।

रोमाञ्चक खेलको १०२ औं मिनेटमा स्टेफेन कोजो पापा आनोरले गोल गर्दा पोखरा पुनः २–१ ले अघि बढ्यो ।

तर, खेलको अन्तिम समय ११९ औं मिनेटमा धनगढीका लागि अहमद हिजाजीले सनसनीपूर्ण गोल फर्काउँदा खेल २–२ को बराबरीमा सकियो ।

त्यसपछि एनएसएलको इतिहासमा पहिलोपल्ट खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत भयो ।

प्रतिस्पर्धात्मक जितसंगै साविक उपविजेता टोलीले एनएसएलको उपाधि भिडन्त पक्का गर्दा पाखराले भने फाइनल प्रवेश गर्नका लागि प्लेअफ (२) खेल खेल्न पर्ने भएको छ ।

अब धनगढीले साविक विजेता काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच मंगलवार साँझ हुने इलिमिनेटर खेलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.