भक्तपुर । निधारित ९० र अतिरिक्त ३० मिनेटको समयको खेल १–१ मा सकिएपछि ट्राइबे्रकरमा क्रोएसियाका गोलकिपर लिभाकोभिकले जापानका ३ पेनाल्टी प्रहार रोकेपछि पेनाल्टी सुटआउटमा जापानलाई ३–१ ले पराजित गर्दै साविक उपविजेता क्रोएसिया फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
यसअघि सोमवारको पहिलो प्रि–क्वाटरफाइनल खेल निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएको थियो ।
अल जानोब रंगशालामा खेलको ४३ औं मिनेटमा डाइजेन मेइदाको गोलमार्फत जापानले १–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफको ५५ औं मिनेटमा इभान पेरिसिकले गोल फर्काएसंगै खेल १–१ को बराबरीमा आएको थियो ।
त्यसपछि दुबै टोलीले निर्धारित र अतिरिक्त समयमा गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो ।
ट्राइब्रेकरमा क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिक र मारियो पासालिकले गोल गर्दा मार्को लिभाजाको प्रहार जापानका गोलकिपर गान्दाले रोकेको थियो ।
यता, जापानका ताकुमी मिनामियो, काउरु मितोमा र माया योसिदाको प्रहार क्रोएसियाका गोलकिपरले रोक्दा ताकुमा असानोले भने एक गोल गरेको थिए ।
महत्वपूर्ण जितसंगै क्रोएसिया प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । अब क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिल र दक्षिण कोरियाको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।