एजेन्सी । स्पेनिस महारथी क्लब रियल मड्रिड युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेग खेलमा जर्मन महारथी बायर्न म्युनिखमाथि २–१ को पुनरागमन जित हासिल गर्दै समग्रमा ४–३ को जितका साथ रियल मड्रिड फाइनलमा प्रवेश गरेको हो ।
त्यसअघि म्युनिखमा भएको सेमिफाइनलअन्तर्गत पहिलो लेग खेल २–२ को बराबरीमा सकिएको थियो ।
मड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबाउ रंगशालामा भएको रोमाञ्चक खेलमा घरेलु टोलीलाई जिताउन जोसेलुले दुई गोल गरे ।
त्यस्तै, भ्रमणकारी टोलीका लागि अलफान्सो डाभिसले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६८ औं मिनेटमा ह्यारी केनको पासमा डाभिसले गोल गर्दै म्युनिखलाई १–० ले अघि बढाए ।
तर, खेलको अन्तिम समयतिर ८८ औं मिनेटमा स्पेनिस टोलीका लागि जोसेलुले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसको तीन मिनेटपछि अर्थात् इन्जुरी समयको पहिलो मिनेटमा एन्टोनियो रुडिगरको पासमा जोसेलुले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा च्याम्पियन्स लिगका सर्वाधिक सफल क्लब २–१ ले विजयी भयो ।
महत्वपूर्ण जितसंगै उपाधि नजिक पुगेको मड्रिडले अब उपाधिका लागि अर्को जर्मन क्लब बुरुसिया डर्टमण्डसंग प्रतिस्पर्धा गर्ने भएको छ ।