
एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेग खेलमा बार्सिलोनामाथि ४–१ समग्रमा ६–४ को जित रच्दै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्यसअघि क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेलमा पिएसजी घरेलु मैदानमै बार्सिलोनासंग ३–२ ले पराजित रहेको थियो ।
तर, गयरातिको नतिजासंगै बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको छ ।
स्पेनिस क्लबको घरेलु मैदान इस्टाडी ओलम्पिक लुइस कम्पनिज रंगशालामा भएको खेलमा फ्रान्सेली क्लबको जितमा केलियन एम्बाप्पेले दुई गोल गर्दा ओसमान डेम्बेले र भिटिन्हा एक–एक गोल गरे ।
पराजित घरेलु टोलीका लागि राफिन्हाले एक गोल गरे ।
खेल सुरु भएको १२ औं मिनेटमा लामिन यामलको पासमा राफिन्हाले गोल गर्दा स्पेनिस टोली १–० समग्रमा ४–२ ले अघि बढ्यो ।
तर, २९ औं मिनेटमा रोनाल्ड अरौजोले रातो कार्ड खाँदा बार्सिलोना १० खेलाडीमा समेतियो ।
जसको भरपुर फाइदा भ्रमणकारी टोली पिएसजीले उठायो ।
खेलको ४० औं मिनेटमा ब्राड्ले बार्कोलाको पासमा डेम्बेलेले गोल पिएसजीका लागि गोल फर्काउँदा खेल १–१ समग्रमा ४–३ को अवस्थामा आयो ।
त्यसपछि दोस्रो हाफको ५४ औं मिनेटमा आचरफ हाकिमीको पासमा भिटिन्हाले गोल गर्दा पिएसजी २–१ समग्रमा ४–४ को अवस्थामा आयो ।
यता, ६१ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दा फ्रान्सेली क्लब ३–१ समग्रमा ५–४ ले अघि बढ्यो ।
खेलको अन्त्यतिर ८९ औं मिनेटमा एम्बाप्पेले गोल थप्दा पिएसजी ४–१ समग्रमा ६–४ ले विजयी भयो ।
अब सेमिफाइनलमा पिएसजीले जर्मन क्लब बुरुसिया डर्टमण्डसंग खेल्ने पक्का भएको छ ।