
एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रान्सको प्रतिष्ठित नकआउट प्रतियोगिता कोप दि फ्रान्सको उपाधि जितेको छ ।
सनिवार राति भएको फाइनल खेलमा लिग वान प्रतिद्वन्दी लियोनमाथि २–१ को जित निकाल्दै पिएसजीले कोप दि फ्रान्सको उपाधि जितेको हो ।
स्टेड पिइरे मौरोय रंगशालामा भएको खेलमा पिएजसीलाई उपाधि दिलाउन ओसमान डेम्बेले र फाबियान रुइजले एक–एक गोल गरे ।
यता, पराजित टोलीका लागि भने ज्याक ओ ब्रियनले एक गोल फर्काए ।
पहिलो हाफको २२ औं मिनेटमा नुनो मेन्डिसको पासमा डेम्बेलेले गोल गर्दै लिग वान च्याम्पियनलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३४ औं मिनेटमा रुइजले गोल थप्दा पिएसजी २–० ले अघि बढ्यो ।
तर, दोस्रो हाफको ५५ औं मिनेटमा लियोनका रायन छेर्कीको पासमा ज्याकले गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
त्यसपछि दुबै टोलीबाट थप गोल ननिस्केपछि खेल पिएसजीले जित्यो ।
पिएसजीको यो १५ औं कोप दि फ्रान्स उपाधि हो ।