भक्तपुर । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले ९ विकेटको सहज जित हात पारेको छ ।
सोमवार भएको खेलमा जितका लागि ९६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेपालले मात्र ७.४ ओभर खेल्दै १ विकेटको क्षतिमा १०० रन बनाउँदै लक्ष्य पुरा गर्यो ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालको जितमा ब्याटरहरुले बिष्पोटक पारी खेले ।
विकेटकिपर आसिफ शेखले २१ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहँदै सर्वाधिक ५३ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, ओपनर कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोड्दै पेविलियन फर्किदा कुशल मल्लले १३ बलको सामना गर्दै १ चौका र१ छक्का प्रहार गर्दै १२ रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा २ रन जोड्यो ।
पिएनजीका लागि चाद सोपेरले २.४ ओभर बलिङ गर्दै १ विकेट लिए ।
त्यसअघि टस हार्दै पहिला ब्याटिङमा उत्रिएको पिइनजीले ३२ ओभरमा अलआउट हुँदै ९५ रन बनाएको थियो ।
पिएनजीका लागि कप्तान अस्साद भालाले ३१ बल खेलेर २ चौका मद्दतमा २० रन बनाउनु नै सर्वाधिक रह्यो ।
सेसे बाउले २८ बल खेल्दै ३ चौका प्रहार गर्दै १८ रन जोड्दै आउट हुँदा चार्चिस एमिनीले २८ बलमा १ चौका मद्दतमा १६ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, हिरी हिरीले २२ बलमा २ चौका प्रहार गर्दै १४ रनमा पेविलियन फर्किदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
चाद सोपेर ८ रनमा अविजित रहँदा हिला भारे ७, रिले हेकुरे ४, विकेटकिपर केप्लिन दोरिगा २, काबुआ मोरिया १ रनमा आउट हँदा सेमो कामिया शुन्य रनमा पेविलियन फर्किए । पिएनजीले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
पिएनजीलाई सस्तैमा समेत्न नेपालका स्पिनर सन्दिप लामिछानेले १० ओभर बलिङ गर्ने क्रममा १ मेदन राख्दै २५ रन खर्चिएर सर्वाधिक ५ विकेट हात पारे ।
त्यस्तै, कुशल मल्लले ३ ओभर बलिङ गर्ने क्रममा १ मेदन राखेर मात्र ६ रन दिँदै २ विकेट लिँदा ललित राजवंशीले ७ ओभर बलिङ गर्दै १ मेदन राखेर १३ रन खर्चिएर २ विकेट लिए ।
यता, सोमपाल कामीले पनि ५ ओभरमा २ मेदन राख्दै २२ रन खर्चिएर १ विकेट लिए ।
अब नेपालले अन्तिम खेलमा युएईसंग चैत्र २ गते विहिवार खेल्नेछ । उक्त खेल जित्न सके नेपालले एकदिवसिय विश्वकपको अन्तिम छनोटमा स्थान बनाउँने छ ।