भक्तपुर । काठमाडौंमा आज (विहिवार) देखि सुरु भएको आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि सहज जित हात पार्दै सिरिजको सुखद सुरुवात गरेको छ ।

क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ५२ रनको जित हात पारेको हो ।

घरेलु टोली नेपालले पिएनजीलाई जितका लागि २९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पिएनजी ४७.१ ओभरमा अलआउट हुँदै २४५ रनमा समेतिएसंगै नेपालले सहज जित हात पारेको हो ।

पिएनजीका लागि नोर्मन भानुआले ५५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६० रनको अर्धशतकिय इनिङ्स खेले ।

टोनी उराले ४४ बलमा ९ चौका प्रहार गर्दै ५० रन जोड्दा कप्तान असाद भालाले ५३ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडे ।

त्यस्तै, विकेटकिपर केप्लिन दोरिगाले ३४ बलमा ३ चौका र १ छक्का मद्दतमा २६ रन बनाउँदै पेविलियन फर्किदा रिले हेकुरेले १७ बलको सामना गर्दै १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोड्दै आउट भए ।

यता, चार्लिस एमिनीले ४३ बलमा १ चौका मद्दतमा १४ रन बनाउँदै आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हिरी हिरीले ८, सेसे बाउले ३, एलेइ नाओ २ रनमा आउट भए । सेमो कामिया ५ रनमा नटआउट रहे । पिएनजीले १५ रन अतिरिक्त रुपमा जोड्यो ।

नेपालका लागि सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै १ मेदन राख्दै ३७ रन दिएर सर्वाधिक ४ विकेट लिए ।

त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ९.१ ओभर बलिङ गर्दै ३७ रन खर्चिएर २ विकेट लिँदा कुशल मल्लले १० ओभरमा ६० रन खर्चिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखले ११० बल खेल्दै १२ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ११० रनको शतकिय पारी खेले ।

त्यस्तै, कुशल फुर्तेलले ५६ बलमा ६ चौका प्रहार गर्दै ४५ रन जोड्दा भिम सार्कीले ३८ बलको सामना गर्दा ४ चौका प्रहार गर्दै ४४ रन जोडे ।

कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र १ छक्का मद्दतमा ३० रन बनाएर पेविलियन फर्किदा आरिफ शेखले १३ बल खेल्दै १ चौका प्रहार गर्दै १५ रन जोड्दै आउट भए ।

ज्ञानेन्द्र मल्ल ११ करन केसी ८,सन्दिप लामिछाने ७, दिपेन्द्र सिंह ऐरी ७, कुशल मल्ल २ रनमा आउट हुँदा सोमपाल कामी ४ रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा १४ रन जोडेको थियो ।

पिएनजीका लागि सेमो कामियाले ९.१ ओभर बलिङ गर्दै ३८ रन दिएर सर्वाधिक ५ विकेट लिए ।

त्यस्तै, रिले हेकुरेले १० ओभर बलिङ गर्ने क्रममा ५० रन खर्चिएर ३ विकेट लिँदा एलेइ नाओले १० ओभरमा ७५ रन दिएर १ विकेट लिए ।

त्रिकोणात्मक सिरिजअन्तर्गत भोली (शुक्रवार) युएई र पिएनजी खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.