
एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले ला लिगाअन्तर्गत खेलमा लास पाल्मासमाथि जित निकालेको छ ।
सनिवार राति भएको खेलमा उपाधि होडमा रहेको रियल मड्रिडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी लास पाल्मासमाथि २–१ को जित निकालेको हो ।
पाल्मासको घरेलु मैदान इस्टाडियो जीरान कानारिया रंगशालामा भएको खेलमा मड्रिडले पुनरागमन जित निकाल्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३ औं मिनेटमा सान्ड्रो रामिरेजको पासमा जाभी मुनोजले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए ।
तर, ६५ औं मिनेटमा इडुवार्डो कामाभिङ्गाको पासमा भिनिसियस जुनियरले गोल फर्काउँदा मड्रिड १–१ को बराबरीमा आयो ।
त्यसपछि ८४ औं मिनेटमा टोनी क्रुसको पासमा औरेलियन टेचौमेनीले गोल थप्दा मड्रिड २–१ ले विजयी भयो ।
पुनरागमन जितसंगै मड्रिडले २१ खेलमा ५४ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पराजित पाल्मासको भने २२ खेलमा ३१ अंक रहेको छ ।
हारसंगै पाल्मास तालिकाको ९ औं स्थानमा झरेको छ ।
यता, सनिवार राति इस्टाडी ओलम्पिक लुइस कम्पनिज रंगशालामा भएको खेलमा साविक विजेता बार्सिलोना तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी भिल्लारियलसंग ५–३ ले पराजित भएको छ ।
पहिलो हाफको ४१ औं मिनेटमा जेरार्ड मोरेनोको गोलमार्फत् भिल्लारियलले सुरुवाती अग्रता लियो ।
त्यसपछि दोस्रो हाफको ५४ औं मिनेटमा इलियास अखोमाचले गोल थप्दा भ्रमणकारी टोली २–० ले अघि बढ्यो ।
तर, ६० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा इल्के गुन्डुवानले गोल फर्काउँदा बार्सिलोना २–१ को स्थितिमा आयो ।
यता, ६८ औं मिनेटमा गुन्डुवानको पासमा पेड्रीले गोल फर्काउँदा घरेलु टोली बार्सिलोना २–२ को बराबरीमा आयो ।
त्यसपछि ७१ औं मिनेटमा भिल्लारियलका डिफेन्डर इरिक बेलीले आत्मघाती गोल र्गा बार्सिलोनाले ३–२ को अग्रता लियो ।
तर, ८४ औं मिनेटमा एलेक्जान्डर सोरलोथको पासमा गोन्कालो गुइडेसले भिल्लारियलका लागि गोल फर्काउँदा खेल ३–३ को बराबरीमा आयो ।
यता, खेलको अन्त्यतिर इन्जुरी समयको ९ औं मिनेटमा सोरलोथले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा भिल्लारियल ४–३ ले अघि बढ्यो ।
त्यसको ३ मिनेटपछि जोसे लुइस मोरालेसले गोल थप्दा भिल्लारियल ५–३ ले विजयी भयो ।
बलियो टोलीमाथि जित निकालेसंगै भिल्लारियलले २२ खेलमा २३ अंक जोड्दै तालिकाको १४ औं स्थानमा रहेको छ ।
पराजयसंगै बार्सिलोना भने २१ खेलमा ४४ अंकसहित तालिकाको तेस्रो स्थानमा कायम रहेको छ ।