एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्समाथि जित निकालेको छ ।
आईतवार भएको आईपिएलअन्तर्गत पहिलो खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्समाथि ४ विकेटको जित निकालेको हो ।
जितसंगै हैदराबादले १४ खेलबाट १७ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित पञ्जाबको समान १४ खेलमा १० अंकसहित तालिकाको ९ औं स्थानमा रहेको छ ।
हैदराबादको घरेलु मैदान राजिब गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा २१५ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरे ।
हैदराबादलाई जित दिलाउन ओपनर ब्याट्सम्यान अभिषेक शर्माले २८ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६६ रनको अर्धशतकिय पारी खेल्दा नितिश कुमार रेड्डीले २५ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, विकेटकिपर हेनरिक क्लासेनले २६ बल खेल्नेक्रममा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडेर पेविलियन फर्किदा राहुल त्रिपाठीले १८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोडेर आउट भए ।
यता, अब्दुल सामदले ८ बलमा १ छक्का प्रहार गर्दै ११ रन जोडेर अविजित रहँदा शाहबाज अहमेद ३ रनमा पेविलियन फर्किए ।
सनभिर सिंहले ६ रनमा अविजित रहे ।
सनराइजर्सले अतिरिक्त रुपमा १७ रन जोड्यो ।
पञ्जाबका लागि अर्शदिप सिंह र हर्षल पटेलले समान २–२ विकेट लिँदा हरप्रित बरार र शशांक सिंहले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको पञ्जाब किंग्सले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २१४ रन जोड्यो ।
पञ्जाबका लागि ओपनर ब्याट्सम्यान प्रभसिमरन सिंहले ४५ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ७१ रनको अर्धशतकिय पारी खेल्दा रिले रुसोले २४ बल खेल्नेक्रममा ३ चौका र ४ छक्का प्रहार गर्दै ४९ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, अर्का ओपनर अथर्ब ताइदेले २७ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रन जोडेर आउट हुँदा कप्तान तथा विकेटकिपर जितेश शर्माले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३२ रन जोडेर अविजित रहे ।
यता, शिभम् सिंह २ रनमा अविजित रहँदा शशांक सिंह र आशुतोष शर्मा समान २–२ रनमा पेविलियन फर्किए ।
पञ्जाबले अतिरिक्त रुपमा १० रन जोड्यो ।
सनराइजर्स हैदराबादका लागि थङ्गरसु नतराजनले २ विकेट लिँदा कप्तान प्याट कमिन्स र विजयाकन्थ भियसकन्थले समान १–१ विकेट लिए ।