
एजेन्सी । न्युजिल्याण्डले नवौं संस्करणको आईसीसी महिला टि–२० विश्वकपको उपाधि जितेको छ ।
आईतवार राति भएको फाइनल खेलमा न्युजिल्याण्डले साविक उपविजेता समेत रहेको दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै ऐतिहासिक उपाधि जितेको हो ।
त्यसअघि दुई पटक टि–२० विश्वकपको फाइनल खेल खेलेतापनि उपविजेतामै सिमित रहेको न्युजिल्याण्डले तेस्रोपल्टको प्रयासमा भने उपाधि चुम्न सफल भयो ।
यता, आठौं संस्करणको उपविजेता रहेको दक्षिण अफ्रिका भने फेरी पनि उपविजेतामै सिमित भयो ।
युएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १५९ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १२६ रनमा समेतियो ।
दक्षिण अफ्रिकाका लागि कप्तान तथा ओपनर ब्याटर लौरा उल्भाड्टले २७ बलमा ५ चौका प्रहार गर्दै ३३ रन जोडेर आउट हुँदा अर्का ओपनर ताज्मिन ब्रिट्सले १८ बल खेल्नेक्रममा १ चौका मद्दतमा १७ रन जोडेर पेविलियन फर्किन् ।
त्यस्तै, क्लोइ ट्रायनले १६ बलमा १ चौका प्रहार गर्दै १४ रन जोड्दै आउट हुँदा एन्नेरिइ डार्कसेनले ९ बल खेल्नेक्रममा १० रन जोडेर पेविलियन फर्किन् ।
यता, एन्नेक बोस्च ९, मारिजान केप र सुने लुस समान ८–८ तथा नाडिन डि क्लार्क र विकेटकिपर सिनालो जाफ्टा ६–६ रनमा पेविलियन फर्किन् ।
नोनकुलुलेको माल्बा र अयाबोङ्गा खाका समान ४–४ रनमा अविजित रहिन् ।
दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
दक्षिण अफ्रिकालाई सस्तैमा समेत्दै ऐतिहासिक जित निकाल्न न्युजिल्याण्डका लागि रोजमेरी मैर र एमेलिया केरले ३–३ विकेट लिँदा इडेन कार्सन, फरान जोनास र ब्रोक हलिडेले समान १–१ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १५८ रन जोड्यो ।
न्युजिल्याण्डका लागि एमेलिया केरले ३८ बलमा ४ चौका प्रहार गर्दै ४३ रन जोड्दा ब्रुक हलिडेले २८ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै ३८ रन जोडेर पेविलियन फर्किन् ।
त्यस्तै, ओपनर ब्याटर सुजी बेटिसले ३१ बलमा ३ चौका प्रहार गर्दै ३२ रन जोडेर आउट हुँदा म्याडी ग्रीनले ६ बल खेल्दै १ छक्का प्रहार गरेर १२ रन जोडेर अविजित रहिन् ।
यता, विकेटकिपर इज्जे गेज ३ रनमा अविजित रहँदा अर्का ओपनर जर्जिया प्लिमर ९ र कप्तान सोफी डेभाइन ६ रनमा पेविलियन फर्किन् ।
न्युजिल्याण्डले अतिरिक्त रुपमा १५ रन जोड्यो ।
दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको माल्बाले २ विकेट लिँदा अयाबोङ्गा खाका, क्लोइ ट्रायन र नाडिन डि क्लार्कले समान १–१ विकेट लिइन् ।