एजेन्सी । जर्मनीले युईएफए नेसन्स लिगअन्तर्गत खेलमा हंगेरीमाथि फराकिलो जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा बलियो जर्मनीले हंगेरीमाथि ५–० को एकपक्षिय फराकिलो जित हासिल गरेको हो ।
जर्मनीको घरेलु मैदान मेर्कुर स्पाइल एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई फराकिलो जित दिलाउन निकलास फुलक्रुग, जमाल मुसियाला, फ्लोरियान विर्ट्ज, अलेक्जान्डर प्लाहोभिक र काइ हाभार्टेजले गोल गरे ।
पहिलो हाफको २७ औं मिनेटमा मुसियालाको पासमा फुलक्रुगले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ५७ औं मिनेटमा विर्ट्जको पासमा मुसियालाले गोल गर्दै जर्मनीलाई २–० ले अघि बढाए ।
यता, ६६ औं मिनेटमा मुसियालाको असिस्टमा विर्ट्जले गोल थप्दा जर्मनी ३–० को सहज अग्रतासहित अघि बढ्यो ।
त्यस्तै, ७७ औं मिनेटमा मुसियालाकै पासमा प्लाहोभिकले गोल थप्दा जर्मनी ४–० ले अघि बढ्यो ।
यता, ८१ औं मिनेटमा हाभार्टेजले पेनाल्टीमा गोल थप्दा जर्मनी ५–० ले विजयी भयो ।
फराकिलो जितसंगै समूह ‘ए३’ मा रहेको जर्मनीले ३ अंक जोडेको छ ।