
एजेन्सी । स्पेन र नेडरल्याण्ड्सले युईएफए नेसन्स लिगमा बराबरी खेलेका छन् ।
विहिवार राति भएको क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेलमा स्पेन र नेडरल्याण्ड्सले २–२ गोलको बराबरी खेलेका हुन् ।
डच टोलीको घरेलु मैदान स्टाडियन फेइजेनोर्ड रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि कोडी गाक्पो र टिजानी रैजर्न्डस तथा भ्रमणकारी टोलीका लागि निको विलियम्स र माइकल मेरिनोले गोल गरे ।
खेल सुरु भएको नवौं मिनेटमा पेड्रीको पासमा विलियम्सले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, २८ औं मिनेटमा जस्टिन क्लुभर्टको पासमा गाक्पोले गोल गर्दा खेल १–१ को बराबरीमा आयो ।
त्यस्तै, दोस्रो हाफको सुरुवाती समयतिर ४६ औं मिनेटमा जेरेमी फ्रिमपोङको पासमा रैजर्नडसले गोल गर्दा नेडरल्याण्ड्स २–१ ले अघि बढ्यो ।
यता, ८१ औं मिनेटमा जोरेल हातोले रातो कार्ड खान पुग्दा डच टोली १० खेलाडीमा समेतियो ।
जसको फाइदा उठाउँदै स्पेनले खेलको इन्जुरी समयको तेस्रो मिनेटमा मेरिनोको गोलमार्फत् २–२ को बराबरी गर्यो ।
क्वाटरफाइनलअन्तर्गत दोस्रो लेग खेल अर्को साता स्पेनमा हुनेछ ।