
एजेन्सी । फ्रान्सले युईएफए नेसन्स लिगअन्तर्गत खेलमा बेल्जियममाथि सहज जित निकालेको छ ।
सोमवार राति भएको दुई बलियो टोलीबीचको खेलमा फ्रान्सले बेल्जियममाथि २–० को सहज जित निकालेको हो ।
फ्रान्सको घरेलु मैदान ग्रुपामा रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन रान्डाल कोलो मुनाइ र ओसमान डेम्बेलेले गोल गरे ।
पहिलो हाफको २९ औं मिनेटमा मुनाइले गोल गर्दै फ्रान्सलाई १–० ले अघि बढाए ।
त्यसपछि दोस्रो हाफको ५७ औं मिनेटमा एनगोलो कान्टेको पासमा डेम्बेलेले गोल थप्दै फ्रान्सलाई २–० ले जिताए ।
सहज जितसंगै फ्रान्सले नेसन्स लिगमा पहिलो जित निकालेको छ ।
फ्रान्सले २ खेल खेल्दा १ मा जित र १ मा हारको नतिजासहित समूह ‘ए२’ मा ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
समान २ खेलबाट ३ नै अंक रहेको पराजित बेल्जियम भने हेड टु हेडका आधारमा तालिकाको तेस्रो स्थानमा झरेको छ ।