एजेन्सी । इंग्ल्याण्डले युईएफए नेसन्स लिगअन्तर्गत खेलमा फिनल्याण्डमाथि सहज जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा बलियो इंग्ल्याण्डले फिनल्याण्डमाथि २–० को सहज जित निकालेको हो ।
लण्डनस्थित वेम्बली रंगशालामा भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई जिताउन राष्ट्रिय टोलीका लागि १०० औं खेल खेलिरहेका कप्तान ह्यारी केनले दुबै गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५७ औं मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासमा केनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ७६ औं मिनेटमा नोनी मदुइकेको पासमा केनले दोस्रो गोल थप्दा इंग्ल्याण्ड २–० ले विजयी भयो ।
सहज जितसंगै इंग्ल्याण्डले नेसन्स लिगमा २ खेलबाट ६ अंक जोडेर समूह ‘बी२’ मा दोस्रो स्थानमा कायम रहेको छ ।
पराजित फिनल्याण्डले भने अहिलेसम्म खेलेको दुबै खेलमा हार बेहोरेको छ ।
सोहि समूहको अर्को खेलमा ग्रिसले आयरल्याण्डमाथि २–० को जित निकाल्यो ।
जितसंगै ग्रिसले पनि २ खेलबाट ६ अंक जोडेर समूह तालिकाको शीर्ष स्थानमा रहेको छ ।
इंग्ल्याण्डसंग अंक बराबर भएतापनि गोलअन्तरका आधारमा ग्रिस तालिकाको शीर्ष स्थानमा रहेको हो ।
यता, आयरल्याण्डले पनि अंकको खाता खोल्न सकेको छैन ।