एजेन्सी । जर्मनीले युईएफए नेसन्स लिगअन्तर्गत खेलमा बोस्निया एन्ड हर्जगोभिनामाथि जित हासिल गरेको छ ।
शुक्रवार राति भएको खेलमा बलियो जर्मनीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी बोस्निया एन्ड हर्जगोभिनामाथि २–१ को जित हासिल गरेको हो ।
बोस्नियाको घरेलु मैदान बिलिनो पोल्जे रंगशालामा भएको खेलमा भ्रमणकारी टोली जर्मनीलाई जिताउन डिनिज उन्डभले दुबै गोल गरे ।
पराजित घरेलु टोलीका लागि भने इडिन डिजेकोले एक गोल फर्काए ।
पहिलो हाफको ३० औं मिनेटमा फ्लोरियान विर्ट्जको पासमा उन्डभले गोल गर्दै भ्रमणकारी टोलीलाई १–० ले अघि बढायो ।
त्यसको ६ मिनेटपछि नै म्याक्सिमिलियान मिटेलस्टाड्टको असिस्टमा उन्डभले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा जर्मनी २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ७० औं मिनेटमा बेन्जामिन ताहिरोभिकको पासमा डिजेकोले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
त्यसपछि खेलमा थप गोल निस्किएन । जितसंगै जर्मनीले ३ खेलबाट ७ अंक जोडेर समूह ‘ए३’ मा शीर्ष स्थानमा रहेको छ ।
पराजित बोस्नियाको भने समान ३ खेलमा मात्र १ अंकसहित तालिकाको चौथौं अर्थात् पुच्छारमा रहेको छ ।
गयराति नै भएको सोहि समूहको अर्को खेलमा नेडरल्याण्ड्स र हंगेरीले १–१ गोलको बराबरी खेलेका छन् ।
बराबरीसंगै नेडरल्याण्ड्सले ३ खेलबाट ५ अंक जोडेर समूह तालिकाको दोस्रो स्थानमा रहँदा हंगेरीको भने समान ३ खेलमा २ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।