एजेन्सी । युईएफए नेसन्स लिगअन्तर्गत खेलमा नर्वेले अष्ट्रियामाथि जित निकालेको छ ।
सोमवार राति भएको खेलमा नर्वेले अष्ट्रियामाथि २–१ को जित हासिल गरेको हो ।
नर्वेको घरेलु मैदान युलेभाल स्टाडिअन रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन फेलिक्स मेह्रे र इर्लिङ हालान्डले गोल गरे ।
पराजित टोलीका लागि भने मार्केल सबिस्टारले एक गोल फर्काए ।
खेल सुरु भएको ९ औं मिनेटमा एलेक्जान्डर सोर्लोथको पासमा मेह्रेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, ३७ औं मिनटमा क्रिस्टोफ बौमगार्टनेरको पासमा सबिस्टारले अष्ट्रियाका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, दोस्रो हाफको ८० औं मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई २–१ ले जिताए ।
जितसंगै नर्वेले २ खेलबाट १ मा जित र १ मा बराबरीको नतिजासहित ४ अंक जोडेर समूह ‘बी३’ को तालिकामा दोस्राृ स्थानमा उक्लेको छ ।
पराजित अष्ट्रियाको भने समान दुई खेलमा १ मा बराबरी र १ मा हारको नतिजासहित १ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।