एजेन्सी । फ्रान्सले युईएफए नेसन्स कपअन्तर्गत खेलमा बेल्जियममाथि जित निकालेको छ ।
सोमवार राति भएको खेलमा फ्रान्सले बेल्जियममाथि प्रतिस्पर्धात्मक २–१ को जित निकालेको हो ।
बेल्जियमको घरेलु मैदान किंग बौडौइन रंगशालामा भएको खेलमा भ्रमणकारी टोली फ्रान्सलाई जिताउन रान्डाल कोलो मुनाइले दुई गोल गरे ।
पराजित घरेलु टोलीका लागि भने लोइस ओपेन्डाले एक गोल फर्काए ।
पहिलो हाफको २३ औं मिनेटमा योरी टाइलेस्म्यान पेनाल्टीमा चुक्दा घरेलु टोलीले अग्रता लिने सुनौलो अवसर खेर फाल्यो ।
यता, ३५ औं मिनेटमा रान्डाल कोलो मुनाइले पेनाल्टीमै गोल गर्दै फ्रान्सलाई १–० ले अघि बढाए ।
तर, पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा टिमोथी कास्टागनेको पासमा ओपेन्डाले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यस्तै, दोस्रो हाफको ६२ औं मिनेटमा लुकास डिग्नेको पासमा रान्डाल कोलो मुनाइले दोस्रो गोल थप्दा फ्रान्स २–१ ले विजयी भयो ।
जितसंगै फ्रान्सले ४ खेलबाट ३ मा जित र १ मा हारको नतिजा बेहोर्दै ९ अंक जोडेर समूह ‘ए२’ को तालिकामा दोस्रो स्थानमा कायम रह्यो ।
पराजित बेल्जियमको भने समान ४ खेलमा १ मा जित १ मा बराबरी र २ हारसहित ४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
सोहि समूहको गयराति भएको अर्को खेलमा इटालीले इजराइलमाथि ४–१ को फराकिलो जित हासिल गर्यो ।
जितसंगै इटालीले ४ खेल खेलिसक्दा ३ मा जित र १ बराबरीको नतिजासहित १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
इजराइलले भने चारै खेलमा हार बेहोर्दै तालिकाको पुच्छारमा रहेको छ ।