एजेन्सी । युरोपेली फुटबलको एक बलियो राष्ट्र इंग्ल्याण्ड युईएफए नेसन्स लिगअन्तर्गत खेलमा ग्रीससंग स्तब्ध बनेको छ ।
विहिवार राति भएको खेलमा बलियो इंग्ल्याण्ड तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी ग्रीससंग २–१ ले स्तब्ध बनेको हो ।
लण्डनस्थित वेम्बली रंगशालामा भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।
दोस्रो हाफको ४९ औं मिनेटमा कोनस्टानटिनोस कौलीराकिसको पासमा इभानगेलोस पाभ्लीदिसको गोलमार्फत् भ्रमणकारी टोलीले सनसनी १–० को अग्रता लियो ।
तर, ८७ औं मिनेटमा डोमिनिक सोलान्केको पासमा जुधे बेलिङघमले घरेलु टोलीका लागि गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।
यता, निर्धारित समयको इन्जुरी समयको चौथौं मिनेटमा डिमिट्रिस पेल्कासको पासमा इभानगेलोस पाभ्लीडिसले गोल गर्दै ग्रीसलाई २–१ को जित दिलाए ।
जितसंगै ग्रीसले ३ खेलबाट ९ अंक जोडेर समूह ‘ब२’ को शीर्ष स्थानमा उक्लेको छ ।
पराजित इंग्ल्याण्डको भने समान ३ खेलमा ६ अंकसहित तालिकाको दोस्रो स्थानमा झरेको छ ।
गयराति नै भएको सोहि समूहको अर्को खेलमा आयरल्याण्डले फिनल्याण्डमाथि २–१ को जित निकालेको छ ।
जितसंगै आयरल्याण्डले ३ खेलबाट ३ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा कायम रहँदा समान ३ खेलमा सबैमा हारको नतिजासहित फिनल्याण्ड भने तालिकाको पुच्छारमा रहेको छ ।