भक्तपुर । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) ले जितका लागि नेपाल सामू ९६ रनको सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
सोमवार क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा पिएनजीले ३२ ओभरमा अलआउट हुँदै ९५ रन बनाएको हो ।
नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि पिएनजी ब्याटिङमा उत्रिएको थियो ।
पिएनजीका लागि कप्तान अस्साद भालाले ३१ बल खेलेर २ चौका मद्दतमा २० रन बनाउनु नै सर्वाधिक रह्यो ।
सेसे बाउले २८ बल खेल्दै ३ चौका प्रहार गर्दै १८ रन जोड्दै आउट हुँदा चार्चिस एमिनीले २८ बलमा १ चौका मद्दतमा १६ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, हिरी हिरीले २२ बलमा २ चौका प्रहार गर्दै १४ रनमा पेविलियन फर्किदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
चाद सोपेर ८ रनमा अविजित रहँदा हिला भारे ७, रिले हेकुरे ४, विकेटकिपर केप्लिन दोरिगा २, काबुआ मोरिया १ रनमा आउट हँदा सेमो कामिया शुन्य रनमा पेविलियन फर्किए । पिएनजीले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
पिएनजीलाई सस्तैमा समेत्न नेपालका स्पिनर सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै १ मेदन राख्दै २५ रन दिँदै सर्वाधिक ५ विकेट हात पारे ।
त्यस्तै, कुशल मल्लले ३ ओभर बलिङ गर्ने क्रममा १ मेदन राखेर मात्र ६ रन दिँदै २ विकेट लिँदा ललित राजवंशीले ७ ओभर बलिङ गर्दै १ मेदन राखेर १३ रन खर्चिएर २ विकेट लिए ।
यता, सोमपाल कामीले पनि ५ ओभरमा २ मेदन राख्दै २२ रन खर्चिएर १ विकेट लिए ।