भक्तपुर । काठमाडौंमा जारी वेस्ट इन्डिज ‘ए’ विरुद्वको टि–२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेपाल पराजित भएको छ ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ संग ७६ रनले पराजित भएको हो ।
पराजयसंगै ५ खेलको सिरिजमा नेपाल २–१ ले पछि परेको छ ।
२२८ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपाल १९.२ ओभरमा अलआउट हुँदा मात्र १५१ रनमा समेतियो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान लोकेश बमले २९ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेर आउट हुँदा करण केसीले १७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कुशल मल्लले ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर आउट हुँदा अर्का ओपनर विनोद भण्डारीले १५ बल खेल्नेक्रममा ६ चौका प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।
यता, अनिल साहले १० बलमा २ चौका प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा दिपेन्द्र सिंह ऐरी ७, गुलशन झा र कमल सिंह ऐरी समान ६–६, आरिफ शेख र विवेक यादव ३–३ रनमा पेविलियन फर्किए ।
सागर ढकाल ३ रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रुपमा १४ रन जोड्यो ।
नेपाललाई अलआउट गर्दै जित निकाल्न भ्रमणकारी टोलीका लागि हेडेन वाल्सले ४ ओभर बलिङ गर्दै २८ रन दिएर ३ विकेट लिँदा गुडकेश मोटेईले ४ ओभर बलिङ गर्दै २८ रन दिएर २ विकेट लिए ।
त्यस्तै, म्याथ्यु फोर्डे ओबेड म्याककोय र फाबियान अलानले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै २२७ रन जोड्यो ।
वेस्ट इन्डिजका लागि जोनसन चार्लिसले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ११९ रनको शतकिय पारी खेल्दै अविजित रहँदा एन्ड्रे फ्लेट्चरले ३३ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।
त्यस्तै, फाबियान अलानले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान अलिक अथानाजेले १० बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर रनआउट भए ।
यता, केमो पाउलले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोड्दै अविजित रहे ।
वेस्ट इन्डिजले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
नेपालका लागि सागर ढकालले ४ ओभर बलिङ गर्दै ४१ रन दिएर १ विकेट लिँदा करण केसीले ४ ओभरमा ५४ रन खर्चिएर १ विकेट लिए ।
सिरिजअन्तर्गत चौथौं खेल बिहिवार हुनेछ ।