भक्तपुर । बंगलादेशमा जारी १७ वर्षमूनीको साफ यू–१७ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपाल रुससंग पराजित भएको छ ।
आइतवार भएको खेलमा नेपाल साफको भ्रमणकारी टोली रुससंग ३–० ले पराजित भएको हो ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल रंगशालामा नेपालले पहिलो हाफमा युरोपेली राष्ट्र रुसलाई गोलरहित बराबरीमा रोकेतापनि दोस्रो हाफमा रोक्न सकेन ।
नेपालभन्दा बलियो टोली रुसले खेलको ६३ औं मिनेटमा एलिना गोलीकको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो ।
त्यसपछि ७४ औं मिनेटमा एलिनाले नैव्यक्तिगत रुपमा दोस्रो गोल गर्दा रुस खेलमा २–० ले अघि बढ्यो ।
८३ औं मिनेटमा पोलिनाले गोल गर्दा ३–० विजयी भयो ।
जारी प्रतियोगितामा नेपालले ३ खेलमा २ मा हार र १ मा जित निकाल्दा रुसले भने ३ खेलमा शतप्रतिशत जित निकालेको छ ।
साफमा अब नेपालले मंगलबार आयोजक बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।