भक्तपुर । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबिया र नेपालबीचको खेल वर्षाको कारण रद्व भएको छ ।
नेपालले दिएको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले ४ बल खेल्दै ४ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको हो । खेल रद्ध भएपछि नेपाल र नामिबिया दुबैले एक एक अंक बाडेका छन् ।
त्यसअघि युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.४ ओभर खेल्दै १ सय ९७ रनमा बनाएको थियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ९४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान गरे । त्यस्तै, आरिफ शेखले २३ रनको बनाउँदा आसिफ शेखले २० रन जोडे । अर्जुन साउद र गुलशन झा समान १८ रन बनाए ।
त्यस्तै, कुशल भुर्तेलले १३ रन बनाउँदा सोमपाल कामी र कप्तान रोहित पौडेल १० रन बनाउँदै पेबिलियन फर्किए ।
उता घरेलु टोली नामिबियाका लागि तान्गेनी लुन्गामेनीले ३ विकेट लिए । त्यस्तै, कार्ल ब्रिकेनस्टोकले २ विकेट हात पारे ।
अब नेपालले दोस्रो खेल मंसिर १८ गते स्कटल्यान्डसँग खेल्नेछ ।