भक्तपुर । चिरपरिचित प्रतिद्वन्दी युनाइटेड अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपाल आईसीसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको छ ।
बुधवार भएको १९ वर्ष मुनीको महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत छैटौं तथा अन्तिम खेलमा घरेलु टोली युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल सन् २०२५ मा हुने विश्वकपमा छनोट भएको हो ।
डबल राउण्ड एन्ड रोविन ढाँचामा खेलिएको छनोट खेलमा ६ खेलबाट ५ मा जित र १ मा हारको नतिजासहित १० अंक जोडेर नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुन सफल भयो ।
समान ६ खेलबाट समान ५ मा जित र १ मा हार बेहोरेको युएईको पनि समान १० नै अंक रहेपनि नेट रननेटमा पछि पर्दा दोस्रो स्थानमा चित्त बुझाउन पर्यो ।
एसिया छनोटअन्तर्गत तालिकाको शीर्ष स्थानमा रहने टोलीमात्र विश्वकपमा छनोट हुने नियम रहेको छ ।
युएईको दुबईस्थित द सेभेन्स स्टेडियममा भएको खेलमा घरेलु टोलीले दिएको ८४ रनको विजयी लक्ष्य नेपालले १४.४ ओभरमा मात्र २ विकेट गुमाउँदै ८६ रन जोड्दै पूरा गर्यो ।
नेपालको जितमा साना प्रविनले ४२ बलमा अविजित ३५ रन जोडिन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको युएईले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ८३ रन जोड्यो ।