भक्तपुर । नेपाल आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा संयुक्त राज्य अमेरिकासंग पराजित भएको छ ।
सनिवार राति भएको अमेरिका सिरिजअन्तर्गत तेस्रो खेलमा नेपाल फेरी संयुक्त राज्य अमेरिकासंग ३७ रनले पराजित भएको हो ।
त्यसअघि सिरिजअन्तर्गत पहिलो खेलमा पनि नेपाल अमेरिकासंग ३ विकेटले हारेको थियो ।
हारसंगै नेपालले ११ खेलबाट २ मा जित र ८ खेलमा हारसहित ५ अंक जोडर लिग तालिकाको पुच्छारबाट दोस्रो अर्थात् सातौं स्थानमा कायम छ ।
अमेरिकाको भने १२ खेलमा ८ मा जित र ४ मा हारसहित १६ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
टेक्सासको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा भएको खेलमा २८२ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै मात्र २४४ रन जोड्न सक्यो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल साहले ८० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दा सोमपाल कामीले २७ बल खेल्नेक्रममा ४ चौका र २ छक्का प्रहार गर्दै ४६ रन जोड्यो ।
त्यस्तै, कुशल मल्लले ५४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडेर आउट हुँदा कुशल भुर्तेलले ५१ बलको सामना गर्दा २ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किए ।
यता, दिपेन्द्र सिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा आरिफ शेखले १३ बल खेल्नेक्रममा २ छक्का प्रहार गर्दै २१ रन जोडेर पेविलियन फर्किए ।
गुलशन झा १२, अर्का ओपनर तथा विकेटकिपर आसिफ शेख ६, सन्दिप लामिछाने २ र कप्तान रोहित पौडेल १ रनमा पेविलियन फर्किदा करण केसी ५ रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
नेपालमाथि जित निकाल्न अमेरिकाका लागि सौरभ नेत्रभल्करले ४ विकेट लिँदा शाड्ले भान स्चलवेक र नोस्थुस केन्जेजीले २–२ विकेट लिए ।
त्यस्तै, जेसी सिंह र हरमित सिंहले पनि १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २८१ रन जोड्यो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकिय पारी खेल्दा कप्तान मोयङ्क पटेलले ८१ बल खेल्नेक्रममा ५ चौका र १ छक्का प्रहार गरेर ६७ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।
त्यस्तै, हरमित सिंहले ४४ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५९ रनको अर्धशतकिय पारी खेल्दा आरोन जोन्सले २० बल खेल्दै ५ चौका प्रहार गरेर २६ रन जोड्दै पेविलियन फर्किए ।
यता, सञ्जय कष्णमुर्थीले २२ बलमा २ चौका प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर शयान जाहानगिरले २४ बलको सामना गर्दै १ चौका प्रहार गरेर १० रन जोड्दै पेविलियन फर्किए ।
उत्कर्ष श्रीवास्तव ८ र शाड्ले भान स्चलवेक ७ रनमा पेविलियन फर्किए ।
अमेरिकाले अतिरिक्त रुपमा १४ रन जोड्यो ।
नेपालका लागि गुलशन झाले ३ विकेट लिँदा सन्दिप लामिछाने र सोमपाल कामीले २–२ तथा कुशल भुर्तेलले १ विकेट लिए ।