भक्तपुर । भक्तपुरमा जारी तेस्रो संस्करणको विद्यालयस्तरिय भक्तपुर कपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा जित निकाल्दै नेपाल पुलिस स्कुल फाइनलमा प्रवेश गरेको छ ।
सोमवार भएको खेलमा नेपाल पुलिस स्कुलले विनायक शिक्षा निकेटनमाथि ३–१ को जित आत्मसाथ गर्दै फाइनलमा प्रवेश गरेको हो ।
भक्तपुरस्थित स्थानिय महेश्वरी खेल मैदानमा भएको खेलमा नेपाल पुलिसका लागि राम थामीले दुई गोल गर्दा एक गोल पदम चौलागाईंले गरेका थिए । यता, विनायक शिक्षा निकेतनका लागि दिपेन राईले एक गोल फर्काए ।
निर्धारित ७० मिनेटको खेलमा नेपाल पुलिस स्कुलका लागि जर्सी नम्बर ११ का राम थामीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसको ४ मिनेटपछि विनायकले जर्सी नम्बर १२ का दिपेनको गोलमार्फत खेलमा बराबरी गर्यो ।
त्यसपछि १९ औं मिनेटमा जर्सी नम्बर ७ का पदमले गोल गर्दा नेपाल पुलिसले पुनः खेलमा २–१ को अग्रता लियो ।
यता दोस्रो हाफको ५६ औं मिनेटमा जर्सी नम्बर ११ का रामले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा नेपाल पुलिस स्कुललाई ३–१ ले जिताए ।
जितसंगै नेपाल पुलिस स्कुलले उपाधिका लागि मनकामना सेकेन्डरी स्कुलसंग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
खेलको म्यान अफ द म्याच नेपाल पुलिसका राम थामी घोषित भए । उनलाई प्याप्सनका जिल्ला अध्यक्ष सुरेन श्रेष्ठले म्यान अफ द म्याच अवार्ड प्रदान गरे ।
तेस्रो विद्यालयस्तरिय भक्तपुर कपको फाइनल खेल र पुरस्कार वितरण कार्यक्रम बुधवार हुनेछ । तेस्रो संस्करणको विजेता टोलीले आकर्षक ट्रफी जित्नुका साथै नगद रु. २५ हजार जित्नेछ ।
त्यस्तै, दोस्रो हुने स्कुलले पनि ट्रफीसंगै नगद रु. १५ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा व्यक्तिगत स्पर्धामा पनि पुरस्कारको व्यवस्था गरेको छ ।
व्यक्तिगत स्पर्धातर्फ उदयीमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमलाई अवार्डले सम्मानित गरिने सिद्वी स्मिृति भक्तपुर फुटबल क्लबको तयारी छ ।