
भक्तपुर । तेस्रो संस्करणको अन्तर विद्यालयस्तरिय सिद्वि स्मृति भक्तपुर कपको उपाधि नेपाल पुलिस स्कुलले जितेको छ ।
बुधवार भएको उपाधि भिडन्तमा मनकामना सेकेन्डरी स्कुलमाथि २–० को जित हात पार्दै नेपाल पुलिस स्कुलले तेस्रो अन्तर विद्यालयस्तरिय भक्तपुर कपको उपाधि जितेको हो ।
भक्तपुरस्थित स्थानिय महेश्वरी खेल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा नेपाल पुलिस स्कुलका लागि निश्चल थामी र भुपेश लामाले एक–एक गोल गरे ।
रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकेको थियो । दोस्रो हाफको ५५ औं मिनेटमा जर्सी नम्बर १० का निश्चलले गोल गर्दै नेपाल पुलिसलाई खेलमा अग्रता दिलाएका थिए ।
त्यसको ४ मिनेटपछि भुपेशले गोल गर्दै नेपाल पुलिसलाई २–० ले जिताए ।
जितसंगै नेपाल पुलिस स्कुलले आर्कषक ट्रफीसंगै नगद २५ हजार रुपैया जितेको छ । विजेता टोलीलाई प्रमूख अतिथि बागमती प्रदेशका सांसद माननिय सुरेन्द्रराज गोसाईले ट्रफी प्रदान गरेका थिए ।
उपविजेता टोलीले पनि ट्रफी र १५ हजार रुपैया प्राप्त गरेको छ । उपविजेता टोलीलाई विशेष अतिथि श्याम सुन्दर धौभडेलले ट्रफी प्रदान गरेका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच नेपाल पुलिसका निश्चल थामी घोषित भए । विधागत रुपमा फेयर प्लेको अवार्ड गोल्डेन बड स्कुलले जितेको छ ।
त्यस्तै, प्रतियोगिताको उदयीमान खेलाडी नेपाल पुलिसका निश्चल मगर घोषित हुँदा नेपाल पुलिसकै सागर चन्द उत्कृष्ट गोलकिपर चुनिए ।
यता, प्रतियोगिताको उत्कृष्ट खेलाडी मनकामनाका मानव बमजन घोषित हुँदा उत्कृष्ट प्रशिक्षकक विजेता टोलीका प्रशिक्षक अशोक कार्की चुनिए । विधागत स्पर्धाका विजेताहरुलाई विशेष अतिथि कृष्णभक्त दुवालले अवार्ड वितरण गरेका थिए ।
सिद्वि स्मिृति भक्तपुर फुटबल क्लबको आयोजनामा माघ १६ गतेबाट सुरु भएको प्रतियोगितामा १४ विद्यालयको सहभागिता रहेको थियो ।