भक्तपुर । नेपाल दोस्रो संस्करणको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेडरल्याण्ड्ससंग पराजित भएको छ ।

आईतवार भएको सिरिजअन्तर्गत चौथौं तथा अन्तिम खेलमा घरेलु टोली नेपाल नेडरल्याण्ड्ससंग ८ विकेटले पराजित भएको हो ।

योसंगै जारी सिरिजमा ४ खेलबाट ३ मा हार र १ मा जितको नतिजासहित नेपालले २ अंक जोड्दै तालिकामा तेसो स्थानमा रह्यो ।

यता, डच टोलीले भने समान ४ खेलमा २ मा जित र २ मा हारको नतिजासहित तालिमा ४ अंक जोडेर दोस्रो स्थानमा रह्यो ।

नामिबियाले भने ४ खेलमध्ये ३ मा जित र १ मा हारको नतिजा निकाल्दै ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भयो ।

काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १७३ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेडरल्याण्ड्सले ३७.५ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरे ।

डच टोलीको जितमा विक्रमजित सिंहले ९२ बलमा ७ चौका प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा स्याब्रान्ड इंगेलब्रेच्टले ७५ बल खेल्दै ३ चौका प्रहार गरेर ४६ रन जोड्दै अविजित रहे ।

त्यस्तै, ओपनर ब्याट्सम्यान माइकल लेभिटले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ३९ रन जोडेर आउट हुँदा अर्का ओपनर म्याक्स ओडोडले २६ बल खेल्नेक्रममा २ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेर पेविलियन फर्किए ।

नेडरल्याण्ड्सले अतिरिक्त रुपमा २ रन जोड्यो ।

नेपालका लागि ललित राजबंशीले १० ओभर बलिङ गर्दै ४२ रन दिएर १ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले १० ओभरमा २ मेडन राख्दै ३० रन दिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रन जोड्दै नेडरल्याण्ड्सलाई जितका लागि १७३ रनको विजयी लक्ष्य दिएको हो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ९३ बलमा ८ चौका प्रहार गर्दै ६६ रनको अर्धशतकिय पारी खेल्दा करण केसीले २७ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, आरिफ शेखले ५० बलको सामना गर्दा १ चौका प्रहार गर्दै २२ रन जोडेर आउट हुँदा विकेटकिपर आसिफ शेखले २७ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर पेविलियन फर्किए ।

यता, कप्तान रोहित पौडेलले ४० बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा अनिल कुमार साह ७, गुलशन झा ५, कुशल मल्ल २ र दिपेन्द्र सिंह ऐरी १ रनमा पेविलियन फर्किए ।

ललित राजबंशी शुन्य रनमा अविजित रहँदा भिम सार्की भने शुन्य रनमा पेविलियन फर्किए ।

नेपालले अतिरिक्त रुपमा १० रन जोड्यो ।

घरेलु टोली नेपाललाई अलआउट गर्न डच टोलीका लागि आर्यान दत्तले १० ओभर बलिङ गर्नेक्रममा २ मेडन राख्दै १६ रन दिएर ३ विकेट हासिल गर्दा भिभियान किंगमाले १० ओभर बलिङ गर्दै ३९ रन खर्चिएर ३ विकेट लिए ।

त्यस्तै, बास दि लिडले ९.३ ओभर बलिङ गर्दै २९ रन दिएर २ विकेट लिँदा रोयल्फ भान देर मेर्वेले १० ओभर बलिङ गर्दै १ मेडनसहित २३ रन दिएर १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.