भक्तपुर । पहिलो संस्करणको नेपाल टि–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ ।
बुधवार भएको उपाधि भिडन्तमा लुम्बिनीले विराटनगर सुपर किंग्समाथि २४ रनको जित हात पार्दै पहिलो संस्करणको नेपाली फ्रेनचाइज लिगको उपाधि जितेको हो ।
लुम्बिनीले दिएको १३३ रनको सामान्य विजयी लक्ष्य विराटनगरले २० ओभरको खेलमा भेटाउन सकेन । विराटनगर ८ विकेटको क्षतिमा १०९ रनमा समेटियो ।
विकेट किपर समेत रहेका अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन जोडे । त्यस्तै, पृथु बास्कोटाले २९ बलमा ३१ रन बनाए ।
हुसेन तलातले १३ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । अमर सिंह रौतेला ८, विवेक यादव र राज रक्की ननान समान ६ रनमा आउट हुँदा गौरान्सु शर्मा ४ रनमा पेविलियन फर्किए ।
यता, नन्दन यादव ३ तथा केइअन जोसेप २ रनमा अविजित रहे । विराटनगरले २ रन अतिरिक्त रुपमा जोडेको थियो ।
यता, उपाधि जित्नका लागि विराटनगरलाई सस्तैमा समेटिन लुम्बिनीका सागर ढकाल र हर्मित सिंहले २–२ विकेट लिए । त्यस्तै, किशोर महतो र बिपुल शर्माले १–१ विकेट लिए ।
त्यसअघि फाइनल खेलमा टस जित्दै पहिला ब्याटिङमा उत्रिएको लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको थियो ।
लुम्बिनीका लागि सुरुवाती ब्याटिङमा आएका विकेटकिपर लाहिरु मिलान्थाले २८ बल खेल्दै सर्वाधिक ४१ रन बनाए । त्यस्तै, हर्मित सिंहले १८ बलमा ३० रन जोडे ।
कप्तान दिपेन्द्र सिंह ऐरी २३ बलमा २० रन जोड्दै आउट हुँदा इसान पाण्डेले २२ बलमा १८ रनमात्र जोड्न सके । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन ।
अनिल साह ८, बिपुल शर्मा ५, गुल्शन झा ३, किशोर महतो २ तथा कुशल भुर्तेल र साड्ले भान स्चाल्विक समान १ रनमा आउट भए ।
विराटनगरका लागि नन्दन यादव र राज रक्की ननानले समान २–२ विकेट लिए । त्यस्तै, कप्तान रोहित पौडेल, सुर्य तामाङ, केइअन जोसेप र हुसेन तलातले १–१ विकेट लिए ।
लुम्बिनीले उपाधिसंगै नगद रु. ५० लाख जितेको छ । उपविजेता विराटनगरले पनि ३० लाख नगद पुरस्कार जित्यो ।
६ फ्रेनचाइज टोलीको सहभागिता रहेको टि–२० लिगको विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।
फार वेस्ट युनाइटेडका हस्मुतुल्लाह शाहिदी प्लेयर अफ द लिग घोषित हँदा काठमाडौं नाइट्सका अभिनाश बोहरा बेस्ट बलर घोषित भए ।
इर्मजिङ प्लेयर विराटनगरका सुर्य तामाङ घोषित हुँदा हुनेस तलात भए । फाइनल खेलको प्लेयर अफ द म्याच हर्मित सिंह चुनिए ।