भक्तपुर । काठमाडौंमा जारी एकदिवसिय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा आयरल्याण्ड उल्भ्सले नेपाल ‘ए’ समक्ष जितका लागि १७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको आयरल्याण्डले ३८.४ ओभरमा अलआउट हुँदै १७४ रन जाड्दा नेपाल ‘ए’ समक्ष १७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको भ्रमणकारी टोलीका लागि गाभिन होयले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेल्दा कप्तान तथा विकेटकिपर नेइल रकले ३८ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, लैम म्याकार्थीले ५४ बलमा ३ चौका प्रहार गर्दै ३५ रन जोडेर आउट हुँदा पिटर मुरले १७ बल खेल्दै ३ चौका प्रहार गरेर १७ रन जोडेर पेविलियन फर्किए ।
थोमस मोयस र फिन ह्यान्ड समान ५–५, ओपनर ब्याट्सम्यान स्टेफेन डोहेनी र मोर्गान टोपिङ समान २–२ रनमा आउट हुँदा अर्का ओपनर जेम्स म्याकोलुम र ग्यारेथ डेलेनी शुन्य रनमा पेविलियन फर्किए ।
यता, म्याथ्यु हम्फ्रिज २ रनमा अविजित रहे ।
आयरल्याण्ड उल्भ्सले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
आयरल्याण्ड उल्भ्सलाई अलआउट गर्न नेपाल ‘ए’ का लागि रिजन ढकालले ८ ओभर बलिङ गर्दै ३० रन दिएर ३ विकेट लिँदा शाहब आलमले १० ओभर बलिङ गर्नेक्रममा १ मेडनसहित ३५ रन दिएर ३ विकेट लिए ।
त्यस्तै, मौषम ढकालले ७.४ ओभर बलिण् गर्दै ६० रन खर्चिएर २ विकेट लिँदा कमल सिंह ऐरीले ९ ओभर बलिङ गर्दै ३३ रन दिएर १ विकेट लिए ।
अर्को १ विकेट भने रनआउटमार्फत् नेपालले प्राप्त गर्यो ।
३ खेलको ओडिआई सिरिजमा कायम रहन नेपालले आजको खेल जित्नै पर्ने समिकरण रहेको छ ।