भक्तपुर । काठमाडौंमा जारी एसीसी प्रिमियर कपअन्तर्गत पहिलो समिफाइनल खेलमा नेपालले कुवेतमाथि जितका लागि २८२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले ४२ ओभरको खेलमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको हो ।
कुवेतले टस जित्दै नेपाललाई पहिला ब्याटिङमा निम्याएको थियो । नेपालले २३.२ ओभरमा ३ विकेट गुमाउँदै १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिन पुगेको थियो ।
वर्षाले प्रभावित भएपछि पुनः सुरु भएको खेललाई निर्धारित ५० ओभरबाट घटाएर ४२ ओभरमा झार्दै खेलाईएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ९४ रनको अर्धशतकिय पारी खेले ।
कुशल मल्लले ४४ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गर्दै ५७ रनको अर्धशतकिय पारी खेल्दा कुशल भुर्तेलले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाउँदै आउट भएका थिए ।
विकेटकिपर आसिफ शेखले २८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाएर पेविलियन फर्किदा आरिफ शेखले १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन बनाउँदै आउट भए ।
करन केसी ७, सन्दिप लामिछाने ५, भिम सार्की १ रनमा पेविलियन फर्किदा दिपेन्द्र सिंह ऐरी शुन्य रनमा आउट भए ।
सोमपाल कामी १३ रनमा अविजित रहँदा ललित राजबंशी २ रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
कुवेतका लागि मोहम्मद अस्लमले ८ ओभर बलिङ गर्दा ४३ रन खर्चिएर ३ विकेट लिँदा एद्नान आइद्रिसले ८ ओभरमा ५३ रन खर्चिएर १ मेडनसहित ३ विकेट लिए ।
त्यस्तै, सायीद मोनिबले ५ ओभर बलिङ गर्दै ४६ रन दिएर १ विकेट लिँदा यासिन पटेलले ९ ओभर बलिङ गर्दै ५२ रन खर्चिएर १ विकेट लिए ।