भक्तपुर । घरेलु टोली नेपाललाई पराजित गर्दै नेडरल्याण्ड्सले टि–२० अन्तर्राष्ट्रिय त्रिदेशिय सिरिजको उपाधि जितेको छ ।
मंगलवार भएको फाइनल खेलमा नेपाललाई भ्रमणकारी टोली नेडरल्याण्ड्सले ४ विकेटले पराजित गर्दै टि–२० आई सिरिजको उपाधि जितेको हो ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १८५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेडरल्याण्ड्सले १९.३ ओभर खेल्नेक्रममा ६ विकेट गुमाउँदै १८९ रन जोड्यो ।
डच टोलीको जितमा ओपनर ब्याट्सम्यान माइकल लेभिटले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५४ रनको अर्र्धशतकिय पारी खेल्दा चौथौं नम्बरमा ब्याटिङ गर्न आएका स्याब्रान्ड इंगलब्रेच्टले २९ बल खेल्नेक्रममा ४ चौका र ३ छक्का प्रहार गर्दै ४८ रन जोडेर आउट भए ।
त्यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका विक्रमजित सिंहले २३ बलमा ३ छक्का प्रहार गर्दै २९ रन जोडेर आउट हुँदा अर्का ओपनर म्याक्स ओडोडले २३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडेर पेविलियन फर्किए ।
यता, टिम भान देर गगटेनले ५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २१ रन जोडेर अविजित रहँदा रोयल्फ भान देर मेर्वेले २ रन जोडेदै अविजित रहे ।
कप्तान स्कट इडवार्ड्स र तेजा निदामनुरुले समान २–२ रन जोड्दै अविजित रहे ।
डच टोलीले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
नेपालका लागि कुशल मल्लले ३ ओभर बलिण् गर्दै ३३ रन दिएर सर्वाधिक ४ विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र अविनाश बोहराले समान १–१ विकेट लिए ।
त्यसअघि टस जित्दै पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १८४ रन जोड्यो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर आसिफ शेखले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन जोड्दा चौथौं नम्बरमा ब्याटिङ गर्न आएका गुलशन झाले २५ बल खेल्नेक्रममा ३ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, छैटौं नम्बरमा आएका कुशल मल्लले ११ बलमा ३ छक्का प्रहार गर्दै २६ रन जोडेर आउट हुँदा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेलले १९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किए ।
यता, अर्का ओपनर कुशल भुर्तेलले १० बलमा १ चौका र २ छकका प्रहार गर्दै २० रन जोडेर आउट हुँदा सातौं नम्बरमा आएका करण केसी ९ र पाँचौं नम्बरमा आएका दिपेन्द्र सिंह ऐरी १ रनमा पेविलियन फर्किए ।
आठौं नम्बरमा आएका सोमपाल कामी र १० औं नम्बरमा आएका प्रतिश जिसी समान ६–६ रनमा अविजित रहँदा ९ औं नम्बरमा ब्याटिङमा आएका आरिफ शेख भने शुन्य रनमा पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा १० रन जोड्यो ।
नेडरल्याण्ड्सका लागि स्याब्रान्ड इंगलब्रेच्ट, माइकल लेभिट, टिम भान देर गगटेन र फ्रेड क्लास्सेनले समान २–२ विकेट लिए ।
नेपालसहित नेडरल्याण्ड्स र नामिबिया सम्मिलत त्रिदेशिय सिरिज १५ गतेदेखि काठमाडौंमा भएको थियो ।