भक्तपुर । आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालको खराब लय कायमै छ ।
आईतवार राति भएको ओडिआई सिरिजअन्तर्गत तेस्रो खेलमा पनि नेपाल क्यानडासंग ५ विकेटले पराजित भयो ।
क्यानडामा जारी सिरिजमा नेपालले बेहोरेको यो लगातार हार हो ।
त्यसअघि सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासंग १०३ ले पराजित हुँदा दोस्रो खेलमा ओमानसंग १ विकेटले पराजित भयो ।
लगातारको खराब प्रदर्शनसंगै नेपालले लिग २ को अंक तालिकामा ७ खेलबाट ५ खेलमा हार र १ खेलमा जितसहित मात्र २ अंक जोडेको छ ।
मापेल लिफ क्रिकेट मैदानमा भएको खेलमा १८२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोलीले ४२ ओभरमा ५ विकेट गुमाउँदै १८६ रन जोड्यो ।
क्यानडाका लागि नभनित धलिवालले ११३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८७ रनको अर्धशतकिय पारी खेल्दा प्रगत सिंहले ८३ बल खेल्नेक्रममा ७ चौका र २ छक्का प्रहार गर्दै ६४ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, हर्ष थाकेरले २४ बल खेल्दै १ चौका प्रहार गरेर १३ रन बनाउँदै आउट हुँदा कप्तान निकोलास क्रिटनले ८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोडेर अविजित रहे ।
यता, विकेटकिपर श्रेयस मोभ्भा २ रनमा अविजित रहँदा अखिल कुमार २ र ओरोन जोनसन शुन्य रनमा पेविलियन फर्किए ।
क्यानडाले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
नेपालका लागि सन्दिप लामिछानेले २ विकेट लिँदा करण केसी, ललित राजबंशी र गुलशन झाले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिण्मा उत्रिएको नेपालले ४६.१ ओभर खेल्नेक्रममा अलआउट हुँदै १८१ रन जोड्यो ।
नेपालका लागि स्पिनर सन्दिप लामिछानेले ४८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४९ रन जोड्दा गुलशन झाले ५६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, करण केसीले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा सोमपाल कामीले ४८ बल खेल्नेक्रममा २ चौका प्रहार गरेर २१ रन जोडेर पेविलियन फर्किए ।
यता, अर्जुन साउद र आरिफ शेख समान१०–१०, कप्तान रोहित पौडेल र भिम सार्की ४–४, आसिफ शेख २ तथा अनिल साह १ रनमा आउट हुँदा ललित राजबंशी भने शुन्य रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रुपमा २२ रन जोड्यो ।
नेपाललाई सस्तैमा अलआउट गर्न घरेलु टोलीका लागि भने कलिम सानाले ३ विकेट लिँदा डिलन हेलिगर र हर्ष थाकेरले समान २–२ तथा प्रविन कुमार र साद बिन जफरले १–१ विकेट लिए ।