
भक्तपुर । युरोपेली राष्ट्र नेडरल्याण्डले कतारमाथि जित निकालेसंगै फिफा विश्वकपको दोस्रो चरण समूह विजेताका रुपमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको समूह ‘ए’ को अन्तिम चरणको खेलमा नेडरल्याण्डले आयोजक कतारमाथि २–० को सहज जित हात पारेको हो ।
अल ब्याट संगशालामा डच टोलीका लागि कोडी गाक्पोले खेलको २६ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिएका थिए ।
पहिलो हाफ १–० ले अघि रहेको नेडरल्याण्डले दोस्रो हाफमा थप एक गोल थप्यो । खेलको ४९ औं मिनेटमा फ्रान्की डी जोङले गोल गर्दा नेडरल्याण्ड २–० ले अघि बढ्यो ।
त्यसपछि दुवै टोलीबाट थप गोल निस्केन र खेल डच टोलीले २–० ले आफ्नो पक्षमा पार्यो ।
जितसंगै समूह चरणका तीन खेल सकिँदासम्म नेडरल्याण्डले दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक जोड्यो ।
पहिलो विश्वकप खेलिरहेको आयोजक कतार भने तीनवटै खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।