भक्तपुर । फिफा विश्वकपको समूह ‘ए’ मा रहेको नेडरल्याण्ड र इक्वेडरले बराबरी खेलेपछि आयोजक कतार फिफा विश्वकपबाट बाहिरिने निश्चित भएको छ ।
योसंगै जारी विश्वकपमा पहिलो चरणबाट बाहिरिने पहिलो राष्ट आयोजक कतार बनेको छ । कतारले समूहको दुई खेलमा हार बेहोरेको छ ।
अब समूह चरणको अन्तिम खेलमा कतारले जित हात पारेता पनि विश्वकपको दोस्रो चरण पुग्नेछैन । किनभने बराबरीसंगै नेडरल्याण्ड र इक्वेडरको समान ४ अंक भइसकेको छ । डच टोली र अफ्रिकी राष्ट्रले विश्वकपको पहिलो खेलमा जित हात पारेका थिए ।
शुक्रवार खालिफा अन्तराष्ट्रिय रंगशालामा युरोपेली टोली नेडरल्याण्डले प्राप्त गरेको सुरुवाती अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकेको हो ।
डच टोलीका लागि कोडी गाक्पोको गोलमार्फत खेलको छैटौं मिनेटमा अग्रता लिएको थियो । गाक्पोको यो जारी विश्वकपमा दोस्रो गोल हो ।
पहिलो हाफ १–० ले अघि बढेको नेडरल्याण्डले खेलको ४९ औं मिनेटमा गोल बेर्होयो । इक्वेडरका लागि कप्तान इनर भ्यालेन्सियनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । योसंगै भ्यालेन्सियाले जारी विश्वकपमा ३ गोल गरिसकेका छन् ।
त्यसपछि दुबै टोलीले गोलका लागि प्रयास जारी राखेता पनि थप गोल भने निस्किएन र खेल १–१ को बराबरीमा टुंगियो ।
विश्वकप समूह ‘ए’ को दोस्रो चरणका लिग खेल सकिँदासम्म नेडरल्याण्ड ४ अंकका साथ शीर्ष स्थानमा रहँदा इक्वेडर पनि समान ४ अंकका साथ दोस्रो स्थानमा छ ।
तेस्रो स्थानमा सेनेगल रहेको छ । उसको दुई खेलमा ३ अंक छ । तालिकाको अन्तिम स्थानमा आयोजक कतार शुन्य अंकमा रहेको छ ।